एनएसएलमा झापा र इलाम भीड्दै

27 Nov, 2023

काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा आज झापा एफसी र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुँदैछ।

झापा र इलाम दुवै एनएसएलमा नयाँ टोली हुन्। खेल दशरथ रंगशालामा साँझ साँढे पाँच बजे सुरु हुनेछ।

नयाँ टोली इलाम उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्ससँग खेलमा १–० ले पराजित भएको थियो। झापाको लागि भने आज यो पहिलो खेल हुनेछ ।

राष्ट्रिय टोलीका लागि हरिक खड्का र निराजन रायमाझीसँगै सर्वाधिक १३ गोल गरेका अन्जन विष्ट झापाको मार्की छन्। उनले पहिलो सिजन ललितपुर सिटी एफसीबाट कप्तानी गरेका थिए। यस सिजन अन्जन झापाको मार्की बनेका हुन्।

झापाको टिममा अन्जनसँगै राष्ट्रिय टिममा रहेका योगेश गुरुङ, छिरिङ लामा र लाकेन लिम्बु पनि छन्।

यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका आभास लामिछाने झापाको आइकोनिक प्लेअरको रुपमा छन्। झापाली टोलीको मुख्य प्रशिक्षकमा स्पेनका ओरिएल मोहडानो छन्।

झापाले विदेशी खेलाडीमा पनि स्पेनकै दुई जना अनुबन्ध गरेको छ। जसमा मिडफिल्डर फर्नान्डो कोजार टोरेस र फरवार्ड जोर्ज पेलाएज सान्चेज छन्।

उता इलामको कप्तान तथा मार्कीमा गोलकिपर विकेश कुथु छन् । पहिलो सिजनमा उनी च्याम्पियन टिम काठमाडौं रेजर्सका कप्तान र मार्की थिए।

यस्तै इलाममा विकेशसँगै च्याम्पियन टिमका आशिष गुरुङ, विमल पाण्डे र आशिष राई छन्। इलाममा राष्ट्रिय टिमबाट खेलिसकेका अनुभवी भरत खवास, जितेन्द्र कार्की र नवीन लामालगायतका खेलाडी छन्।

सन्यास लिइसकेका राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन पनि छन् । मेघराज केसीले टिमलाई प्रशिक्षण गरेका छन्।

दुवै टोली आज राम्रो प्रर्दशन गरेर जित निकाल्ने लक्ष्यमा छन्।