काठमाडौं र पोखराले खेले बराबरी

पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल)मा काठमाडौं रेजर्स र पोखरा थन्डर्सले गोलरहित बराबरी खेलेका छन् ।

शुक्रबार साँझ त्रिपुपरेश्वरस्थित दशरथ रगशालामा भएको खेलमा दुवै टिमले गोलका सुनौला अवसर सिर्जना गरे, दुवै टिम फिनिसिङमा चुक्दा अंक बाड्न बाध्य भए ।

एनएसएलको यो पहिलो गोलविहीन खेल हो । दुवै टिमसामु यो खेल जित्दै शीर्ष स्थानमा उक्लने अवसर थियो । तर बराबरीले त्यो अवसर गुमेको छ ।

पहिलो हाफमा पोखराले उत्कृष्ट खेल खेल्दै काठमाडौंमाथि निरन्तर दबाब बनाएको थियो। दोस्रो हाफमा काठमाडौं खेलमा हावी भएको थियो ।

खेलको इन्जुरी समयमा पोखराका प्रविन स्याङ्तानले केट्चा यानिकको फ्रिकिकमा ब्याक हेडर गोल गरेका थिए । तर उनी अफसाइड पोजिसनमा रहेकाले गोलले मान्यता पाएन ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका पोखराका पदम मोक्तानले प्लेयर अफ दि म्याच घोषित भए भने इमर्जिङ प्लेयर अफ दि म्याच भने काठमाडौंका राजन गुरुङ बने ।

काठमाडौं र पोखरा दुवैले एक जित, एक बराबरीसहित समान ४ अंक जोडेका छन् । पोखरा थण्डर्स तेस्रो र काठमाडौं रेजर्स चौथो स्थान छ । बुटबल लुम्बिनी एफसी र धनगढी एफसीको पनि समान ४ अंक भएपनि गोल अन्तरमा माथि रहँदै उनीहरु शीर्ष दुईमा छन्।

शनिबार दुई खेल हुने छन् । दिउँसो २ः३०मा हुने खेलमा धनगढी र चितवन भिड्ने छन् भने साँझ ५ः३० बजे हुने खेलमा बुटवल लुम्बिनी र विराटनगर भिड्ने छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.