फिफा विश्वकप छनोटमा नेपाल युएईसँग ४-०ले पराजित, विश्वकप छनोटमा नेपाल अझै गोलबिहीन

7 Jun, 2024
Share:
117 Shares

सन् २०२६ को फिफा विश्वकपको एसियन छनोटको दोस्रो चरणमा नेपाल पराजित भएको छ। बिहीबार राति साउदी अरेबियामा भएको खेलमा नेपाल युएईसँग ४-०ले पराजित भयो।

यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनुपर्ने थियो। तर घरेलु मैदान खेल्न यो योग्न नभएपछि खेल साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहम्मद विन फहद स्टेडियमा भएको हो। खेलमा युएईले दुवै हाफमा समान २ गोल गरेको थियो।

छनोटको समूह एचमा रहेको नेपालको लगातार पाँचौं हार बेहोरेको हो। नेपालले अहिलेसम्म एक गोल पनि गर्न सकेको छैन। यसअघि युएईमै भएको पहिलो लेगमा पनि ४-० ले नै पराजित भएको थियो।

युएईका हरिब अबदल्ला सुहेल अल माज्मीले दुई मिनेटमा दुई गोल गर्दै सुरुमै युएईलाई २-० को अग्रता दिलाएका थिए। उनले खेलको १२ र १४औं मिनेटमा गोल गरेका थिए।

पहिलो हाफमा नेपालले पनि गोल गर्ने राम्रो अवसर पाएको थियो। तर नेपाल अभागी बन्यो। ३७औं मिनेटमा नेपालले दुई राम्रो अवसर गुमायो। सनिश श्रेष्ठको क्रसमा विशाल बस्नेतले बक्स भित्रबाट गरेको हेडर पोष्टमा लागेर पर्कियो। त्यसकै रिबाउण्डमा सन्जिव विष्टको प्रहार पनि बारमा लागेर पर्कियो।

पहिलो हाफ २ ०मा सर्किएको खेलमा दोस्रो हाफमा पनि युएईले दुई गोल थप्यो। उसका अली सालेहले ५३औं र हाजेन मोहमम्दले ७५औं मिनेटमा गोल गरे।

यही खेलमार्फ वसन्त जिम्बाले राष्ट्रिय टिममा डेब्यू गरेका छन्। उनी पहिलो रोजाईमै टिममा थिए।

नेपालले अब समूहको अन्तिम खेल यमनसँग जुन ११ मा दम्माममा खेल्नेछ।