मालाेर्कासँग रोकियो रियल मड्रिड

19 Aug, 2024
Share:
117 Shares

ला लिगाको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा रियल घरेलु टोली मालोर्कासँग १–१ गोलको बराबरीमा रोकिएको हो।

सुरुआतमै लिएको अग्रता जोगाउन नसक्दा रियल अकं बाँड्न बाध्य भयो। रियलका लागि १३औं मिनेटमा दुई ब्राजिलियन स्ट्राइकरको कम्बिनेसनमा अग्रता लियो। भिनिसियस जुनियरको पासमा रोड्रिगोले उत्कृष्ट गोल गर्दै रियललाई अग्रता दिलाएका थिए।

खेलको पहिलो १–०मै सकियो। मालोर्काका लागि ५३औं मिनेटमा भेदात मुरिकीले कर्नरमा हेडिङमार्फत बराबरी गोल गरे। त्यसपछि गोल नहुँदा खेल बराबरीमा सकियो।

रियलले खेलको अन्त्य १० खेलाडीमा रहेर गरेको थियो। इन्जुरी समयको अन्त्यतिर फोर्नाल मेन्डीले मालोर्कामा मुरिकीलाई खराब ट्याकल गरेपछि रेफ्रीले उनलाई सिधै रातोकार्ड दिएका थिए।

यही खेलमार्फत फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पेले ला लिगामा डेब्यू गरे। रियलका लागि डेब्यू खेलमै गोल गरेका उनले ला लागिको डेब्यू खेलमा पनि गोल गर्न केही अवसर बनाएका थिए, तर त्यसलाई पोस्टको दिशा दिन सकेनन्।