क्लब फुटबलफुटबल

फेरि रियलको संकटमोचक बने बेलिङहम, गेटाफेविरुद्ध पुनरागमन जित

२० वर्षीय युवा मिडफिल्डर जुड बेलिङहम रियल मड्रिडको संकटमोचका बनेका छन्। ल लिगका चारै खेलमा बेलिहङमले गोल गर्दै रियललाई जित दिलाएका छन्।

घरेलु मैदानमा पहिलो खेल खेलिरहेको रियल शनिबार राति बराबरीतर्फ उन्मूख थियो। तर, इन्जुरी समयको पाँचौं मिनेटमा तिनै बेलिङहमले गोल गरेपछि रियलले लागतार चौथो जित निकाल्न सफल भयो।

चौथो खेलमा बेलिङहमको यो पाँचौं गोल हो। डेब्यू सिजननै लागतार ४ खेलमा गोल गर्ने उनी क्रिस्टियानो रोनाल्डोपछि दोस्रो खेलाडी हुन्।

खेलको ११औं मिनेटमै बोर्जा मायोराल गोल गर्दै गेटाफेलाई अग्रता दिलाए। उनले ११औं मिनेटमा रियलको डिफेन्सको गल्तीमा गोल गरेका थिए। ४७औं मिनेटमा जोसेलुले बराबरी गोल फर्काए। यसै सिजन लोनमा रियल आएका उनको पहिलो गोल हो।

त्यसपछि इन्जुरी समयमा बलिङहमले गोल गर्दै रियललाई जित दिलाए। डिबक्सबाहिरबाट लुकास भास्क्वेसको प्रहार गेटाफेका गोलकिपरले रोकेपछि प्राप्त बलमा उनले गोल गरेका थिए।

यस सिजन चारै खेल जितेको रियल १२ अंक जोडेर शीर्ष स्थानमा छ । रियलले छिमेकी एट्लेटिको मड्रिड, बार्सिलोना र गिरोनामाथि समान ५ अंकको अग्रता बनाएको छ । यी तीन टोलीले रियलभन्दा एक खेल कम खेलेका छन् ।

गेटाफे चार खेलबाट ४ अंकसहित १४औं स्थानमा छ ।