क्लब फुटबलफुटबल

सोसिडाडमाथि रियलको पुनरागमन जित

रियल मड्रिडले स्पेनिस लिगमा शतप्रतिशत जितको नतिजालाई कायम राखेको छ। आइतबार राति बर्नाबेउमा भएको खेलमा रियलले १ गोलले पछि परेको अवस्था उल्टाउँदै रियल सोसिडाडलाई २–१ले हरायो।

रियलको जितमा फेडेरिको भाल्भर्डे र जोसेलुले गोल गरे भने सोसिडाडका एन्डर बारानेसियाले गोल गरेका थिए।

पाचौं मिनेटमै सोसिडाडले रियलमाथि अग्रता लियो। उसका बारानेसियाले गोल गरेका थिए। पहिलो हाफ १–०मै सकियो।

दोस्रो सुरु भएको १ मिनेट नबित्दै रियलले बराबरी गोल फर्कायो। उसका लागि भाल्भर्डेले डिबक्स बाहिरबाट फरान गार्सिएयाको पासमा गोल गरेका थिए। यस्तै, ६०औं मिनेटमा गार्सियाकै पासमा जोसेलुले रियललाई अग्रता दिलाए। त्यसपछि गोल नहुँदा रियल २–१ले विजयी भयो।

जित सहित रियल मड्रिड लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उसले ५ खेलबाट १५ अंक जोडेको छ । सोसिडाड ६ अंक सहित ११ औं स्थानमा छ ।