भिनिसियस र एम्बाप्पेको गोलमा रियल विजयी, एट्लेटिको पराजित

10 Mar, 2025
Share:
117 Shares

भिनिसियस जुनियर र किलियन एम्बाप्पेको गोल मद्दतमा स्पेनिस ला लिगामा रियल मड्रिड विजयी भएको छ। आइतबार राति भएको खेलमा रियलले रायो भालेकानोमाथि २–१को जित निकाल्यो।

खेलमा रियलले ३०औं मिनेटमा एम्बाप्पेको गोलमा सुरुआती अग्रता लियो। त्यसको चार मिनेटपछि नै रियलले अग्रता दोब्बर बनायो। यो पटक भिनिसियसले लुका मोड्रिचको पासमा गोल गरेका थिए।

तर, इन्जुरी समयको दोस्रो मिनेटमा भालेकानोले गोल गर्दै खेलमा फर्कने प्रयास गरेको थियो। उसका पेड्रो डियाजले गोल गरेका थिए। दोस्रो हाफमा थप गोल नहुँदा रियल विजयी भयो।

यता, मड्रिडकै अर्को क्लब एट्लेटिको भने पराजित भयो। अन्तिम केही मिनेट सम्हालिन नसक्दा एट्लेटिको गेटाफेसँग २–१ले पराजित भो।

खेलमा ७५औं मिनेटमा पेनाल्टीमा एलेक्सजान्डर सोर्लोथले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए। खेलको ८८औं मिनेटमा एट्लेटिको १० खेलाडीमा समेटियो। उसका एन्जल कोरेयाले रातो कार्ड पाएका थिए।

त्यसको फाइदा गेटाफेले उठायो। ८८औं मिनेटमै माउरो अराम्बरीले टिमका लागि बराबरी गोल फर्काएका थिए। त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा उनले नै गोल गर्दै टिमलाई जित दिलाए।

जितपछि रियल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ। दुवैको समान ५७ अंक भएको छ। बार्सिलोनाले २६ खेल खेल्दा रियलले २७ खेल खेलेको छ। २७ खेलमा ५६ अंकसहित एट्लोटिको तेस्रो स्थानमा छ।