एम्बाप्पेको ह्याट्रिकमा सिटीमाथि रियलको सानदार जित, रियल अन्तिम १६मा, सिटी बाहिरियो

20 Feb, 2025
Share:
117 Shares

रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

नकआउट प्लेअफमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीमाथि ६–३को जित निकाल्दै रियलले नकआउटमा प्रवेश गरेको हो। यो हारपछि सिटी भने नकआाउटमा पुग्न असफल भएको छ।

बुधबार राति घरेलु मैदानमा भएको प्लेफको दोस्रो लेगमा रियलले सिटीलाई ३–१ले हरायो। रियलको जितमा किलियन एम्बाप्ले ह्याट्रिक गरे। उनले खेलको चौथो मिनेटमै टिमलाई अग्रता दिलाएका थिए।

त्यसपछि ३३औं मिनेटमा उनले टिमको अग्रता दोब्बर बनाए। पहिलो हाफ २–०मै सकियो। ६१औं मिनेटमा एम्बाप्पेले टिमलाई ३–०को अग्रता दिलाए भने रियलमा आफ्नो पहिलो ह्याट्रिक पुरा गरे। च्याम्पियन्स लिगमा उनको यो तेस्रो ह्याट्रिक हो।

इन्जुरी समयको दोस्रो मिनेटमा निको गोन्जालेजले गोल गर्दै सिटीको अग्रता कम गरे। त्यसपछि थप गोल नहुँदा रियल ३–१ले विजयी भयो। पहिलो लेगमा प्राप्त ३–२को जितसहित रियलले समग्रमा ६–३को जित निकाल्यो।

अब रियलले अन्तिम १६मा एट्लेटिको मड्रिड र बायर लेभरकुसन मध्ये एकसँग खेल्नेछ।