रेखाले रचिन् इतिहास, बनिन् एएफसी महिला च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी

26 Aug, 2024
Share:
117 Shares

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी युवा स्ट्राइकर रेखा पौडेल एएफसी महिला च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनेकी छन्। युएईमा व्यवसायिक फुटबल खेलिरेहकी रेखाले च्याम्पियन्स लिग छनोटमा यूएईको क्लब अबुधाबी कन्ट्रीबाट गोल गरेकी हुन्।

उनले समूह ए अन्तर्गत भएको लाओसको योङ इलिफन्ट्सविरुद्ध गोल गरेकी हुन्। उनको गोल मद्दतमा अबुधावी कन्ट्री २–१ ले विजयी भयो।

खेलमा रेखाले दोस्रो हाफको पहिलो मिनेटमै गोल गरेकी छिन्। त्यसअघि अबुधावीले ३८औं मिनेटमा अग्रता लिएको थियो। उनी च्याम्पियन्स लिगको डेब्यू खेलमै गोल गर्न सफल भइन्।

च्याम्पियन्स लिग छनोट नेपाली क्लब एपिएफ पनि खेरिहेको छ। आइतबा राति भएको पहिलो खेलमा एपिएफ उज्वेकिस्तानको नासाफ १–०ले पराजित भएको थियो।

च्याम्पियन्स लिगमा गोल गरेपछि रेखाले खुशी व्यक्त गर्दै आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्न मिहिनेत गर्ने बताएकी छिन्। उनले आफ्नो गोल नेपाललाई समर्पित गरिन्।

भारतको आई लिग समेत खेलिसकेकी रेखा नेपाली राष्ट्रिय टिमको नियमित स्ट्राइकर हुन्। उनले सन् २०१९ मा भएको साफ च्याम्पियनसिपमाबाट राष्ट्रिय टिममा डेब्यू गरेकी थिइन्।

रेखाको टिम अबुधावीले अब २८ अगष्टमा म्यानमारको म्यावाडी र ३१ अगष्टमा साउदी अरेबियाको अल नासरसँग खेल्ने छ।