फिफा विश्वकपमा गोल गर्नु कुनै पनि फुटबल खेलाडीका लागि सबैभन्दा ठुलो सपना मानिन्छ। तर किशोर अवस्थामै विश्वकपमा गोल गर्ने अवसर भने निकै दुर्लभ उपलब्धि हो।
विश्वकपको इतिहासमा १९ वर्ष नपुग्दै गोल गर्ने खेलाडीको संख्या निकै सीमित छ, जसमा ब्राजिलका महान फुटबलर पेले सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीका रूपमा आजसम्म शीर्ष स्थानमा छन्।
सन् १९५८ को विश्वकपको क्वार्टरफाइनलमा वेल्सविरुद्ध पेलेले १७ वर्ष २३९ दिनको उमेरमा गोल गर्दै इतिहास रचेका थिए। उनले उक्त प्रतियोगितामा कुल ६ गोल गरेका थिए, जसमा फ्रान्सविरुद्ध सेमिफाइनलमा ह्याट्रिक तथा स्विडेनविरुद्धको फाइनलमा दुई गोल पनि समावेश छन्।
यही प्रदर्शनले ब्राजिललाई विश्व च्याम्पियन बनाउन ठूलो भूमिका खेलेको थियो।
यस सूचीमा दोस्रो स्थानमा मेक्सिकोका म्यानुएल रोसास छन्। उनले सन १९३० को पहिलो विश्वकपमा अर्जेन्टिनाविरुद्ध १८ वर्ष ९३ दिनको उमेरमा गोल गरेका थिए । रोसासले उक्त प्रतियोगितामा अन्य ऐतिहासिक उपलब्धि पनि हासिल गरेका थिए ।
तेस्रो स्थानमा स्पेनका युवा मिडफिल्डर गाभी रहेका छन्। उनले सन २०२२ को विश्वकपमा कोस्टारिकाविरुद्ध १८ वर्ष ११० दिनको उमेरमा गोल गर्दै विश्वकप इतिहासकै सबैभन्दा कम उमेरका युरोपेली गोलकर्ता बनेका थिए। स्पेनको ७–० को फराकिलो जितमा उनले आकर्षक भलीमार्फत गोल गरेका थिए।
चौथो स्थानमा इङ्ग्ल्यान्डका माइकल ओवेन छन्। उनले सन १९९८ को विश्वकपमा रोमानियाविरुद्ध १८ वर्ष १९० दिनको उमेरमा गोल गर्दै त्यतिबेला सबैभन्दा कम उमेरका युरोपेली गोलकर्ताको कीर्तिमान बनाएका थिए।
सूचीको पाँचौँ स्थानमा रोमानियाका निकोलाए कोभाच्स रहेका छन, उनले सन १९३० को विश्वकपमा पेरुविरुद्ध १८ वर्ष १९७ दिनको उमेरमा गोल गरेका थिए। त्यो उनको विश्वकप करियरको एकमात्र गोल भए पनि इतिहासमा विशेष स्थान बनाउन सफल भएको छ
विश्वकपको लामो इतिहासमा किशोर उमेरमै गोल गर्ने यी खेलाडीहरूको उपलब्धि आज पनि फुटबल जगतमा प्रेरणादायी मानिन्छ।
जारी विश्वकपमा थुप्रै युवा खेलाडीहरू आफूलाई प्रमाणित गर्न लागेका छन्। तर, पेलेको रेकर्ड यो पटक पनि तोडिने छैन। किनभने यो विश्वकपका कान्छा खेलाडी गिल्बेर्टो मोरो नै १७ वर्ष २४९ दिनका भइसकेका छन्।
