फुटबलराष्ट्रिय फुटबल

साफ खेल्ने यू-१६ फुटबल टिमको विदाई

अखिल नेपाल फुटबल संघ (एन्फा)ले भुटानमा हुने यू-१६ साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीलाई बिदाई गरेको छ।

बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एक कार्यक्रमको आयोजना गरी एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले यू–१६ टिमलाई जितको शुभकामना दिँदै विदाई गरे ।

टोलीमा २३ जना खेलाडी, प्रशिक्षक, मुख्य प्रशिक्षक, फिजिसियन, असिस्टेन्ट कोचलगायत कूल ३० सामेल रहेका छन्। उनले टोलीलाई संयमतापूर्व खेलेर जित निकाल्नका लागि सुझाए ।

‘तपार्इंहरुको उमेर भनेको चाँडो रिस उठ्ने, आफूले आफैंलाई सम्हाल्न नसक्ने उमेर हो। विशेष तपाईंहरुले खेलको अनुशासनमा रहेर रिसलाई हात र मुखमा भन्दा पनि खुट्टाबाट देखाउन पर्‍यो, टीम भावनाले खेल्नुप¥यो,’ उनले भने, ‘जबसम्म तपाईंहरुले टीम भावनाले खेल्नु हुन्न, जित्न सकिँदैन। खेल्दै जाँदा कमीकमजोरी हुन्छ, त्यसलाई दोहोर्‍याउनु भएन। जित्दा र हार्दा पनि संयमित भएर खेल्नुस्।’

समूह ए मा रहेको नेपालले पहिलो खेल बंगलादेशसँग सेप्टेम्बर ३ मा खेल्नेछ । खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुनेछ । यस्तै नेपालले समूहको अर्को खेल भारतसँग सेप्टेम्बर ५ मा खेल्नेछ ।

भुटान, माल्दिभ्स र पाकिस्तान समूह बी मा छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल सेप्टेम्बर ७ र फाइनल खेल सेप्टेम्बर १० मा हुनेछ।