श्रीलंकालाई ५-० ले हराउँदै नेपाल यू-१९ साफको सेमिफाइनलमा

12 May, 2025
Share:
117 Shares

नेपाल भारतमा जारी यू–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा श्रीलंकामाथि ५–०को फराकिलो जित निकालेसँगै नेपाल एक खेल बाँकी छँदै सेमिफाइनलमा पुगेको हो।

युपिस्थित गोल्डेन जुब्ली स्टेडियममा भएको खेलमा पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा ४ गोल गरेको थियो। सुजन डंगोलले पहिलो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए।

धरबेन्द्र कुँवरले ६१औं मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए। त्यसपछि सुवास बम ठकुरीले ७७औं, विज्ञान खड्काले ८९औं र लक्षु थापाले इन्जुरी टाइममा फ्रिकिक मार्फत सानदार गोल गरेपछि नेपाल ५–०ले विजयी भयो।

नेपाल रहेको समूह बीको पहिलो खेलमा आयोजक भारतले श्रीलंकालाई ८–०ले हराएकाले नेपालसँगै भारत पनि सेमिफाइनलमा पुगेका छन्। दुवै खेलमा पराजित भएको भएको श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ।

अब समूहको अन्तिम खेलमा नेपालले मंगलबार भारतसँग खेल्ने छ। यो खेलले समूह विजेता र उपविजेताका टुंगो लगाउने छ।