तेक्वान्दो खेलाडी पलेशा सम्मानित

1 May, 2024

किंग्स लाउन्ज काठमाडौंले पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गरेको छ ।

किंग्स लाउन्ज काठमाडौंका अध्यक्ष रामचन्द्र श्रेष्ठ र सीईओ तथा लाउन्जका डाइरेक्टर कुमार गुरुङ्गले पारा तेक्वान्दो खेलाडी पलेशा गोर्वधन र उनका प्रशिक्षक कविराज नेगी लामालाई सम्मान पत्रद्वारा सम्मान गरेको छन् ।

चीनको ताइयानमा गत चैत ४ गते आयोजना भएको एसियाली छनोटमा स्वर्ण पदक जित्दै पलेशा गोर्वधनले पेरिस २०२४ पारालिम्पिकका लागि छनोट भएकी थिइन् ।

पलेसा छनोट चरण पार गरेर पारालिम्पिक खेल्न लागेकी पहिलो नेपाली खेलाडी हुन् । गत असोजमा चीनको हाङचाओमा सम्पन्न चौथो एसियाली पारा खेलकुदमा पनि पलेशाले ऐतिहासिक कांस्य पदक जितेकी थिइन् ।

सन् २०२१ मा बहराइनमा सम्पन्न भएको युथ एशियन गेम्समा पलेशाले ऐतिहासिक स्वर्ण पदक र सन् २०१८ मा भेतनाममा सम्पन्न भएको एशियन पारा तेक्वान्दो च्याम्पियनशिपमा कांस्य पदक जितेका थिए ।

यसअघि सन् २०२० मा भएको टोकियो पारालिम्पिकमा पलेशाले दुई खेल जितेकी थिइन् । ओलम्पिकमा दुई खेल जित्ने उनी पहिलो नेपाली खेलाडी पनि हुन् ।

कविराजले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनको प्रशिक्षणमा नेपालले अहिलेसम्म १० वटा अन्तर्राष्ट्रिय पदक जितिसकेको छ । जसमा तीन स्वर्ण, दुई रजत र पाँच कांस्य छन् । नेगीले पलेशालाई सन् २०१६ देखि प्रशिक्षण गराई आईरहेका छन् ।

किंग्स लाउन्ज काठमाडौंले विगत लामो समयदेखि विभिन्न खेल क्षेत्रका खेलाडीहरुलाई सहयोग गर्दै आईरहेको छ ।

किंग्स लाउन्ज काठमाडौं परिवारले पलेशा गोर्वधनलाई आगामी प्रान्समा हुने पेरिस २०२४ पाराओलम्पिक खेलको लागि शुभकामना व्यक्त गरे।