दिल्लीमा मुआथाइमा नेपाललाई ४ स्वर्ण

21 Dec, 2023

भारतको नयाँ दिल्लीमा भएको मोर्डन पाइथान गेम्समा नेपाली मुआथाइ खेलाडीले बिहीबार ४ स्वर्ण जितेका छन्।

प्रतियोगितामा नेपालबाट समान २–२ पुरुष÷महिला गरी चार खेलाडी सहभागी भएकोमा चारैले स्वर्ण जितेको नेपाल राष्ट्रिय मुआथाइ संघका उपाध्यक्ष समेत रहेका टिम प्रशिक्षक राहुल मोक्तानले बताएका छन्।

पुरुष ६५ केजीमा मुकेश लुइटेल खत्रीले भारतका शिभान्स भार्गवलाई पराजित गरी स्वर्ण जिते । मुकेश भुटानमा भएको पाँचौं दक्षिण एसियाली किक बक्सिङ च्याम्पियनसिपका स्वर्ण विजेता हुन्। पुरुष ६० केजीमा किशोर नेगीले भारतका विशाल सिंहलाई नकआउट आधारमा हराउदै पहिलो भए।

महिला ४८ केजीमा प्राप्ति बतासले भारतकी सताक्षी शुक्लालाई पाखा लगाउदै शीर्ष स्थानमा रहिन्। राष्ट्रिय च्याम्पियन प्राप्ति मलेसियामा सन् २०२२ मा भएको युथ विश्व च्याम्पियनसिपकी काँस्य विजेता हुन् । प्राप्तिकी दिदी परिकाले ५१ केजीमा भारतकी दिब्यान्शीलाई पन्छ्याउदै स्वर्ण चुमिन्।