टी–२० क्रिकेट भन्नेवितिक्कै चौका छक्काको वर्षा हुने भनेर समर्थक र खेलाडी सबैले सोचेका हुन्छन्। ब्याटरहरु छक्का चौका हिर्काउनका लागि तयार हुन्छन् र हिर्काउछन् पनि । किनकि छोटो फम्याटको क्रिकेटमा बढीभन्दा बढी रन बनाउने जुनसुकै टिमको पनि लक्ष्य हुन्छ।
तर कीर्तिपुरस्थित त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा रन बनाउनका लागि खेलाडीलाइ सकस भएको छ ।
एनपीएल खेल्न विश्व क्रिकेटका स्टारहरु नेपालमा पहिलोपल्ट आएका छन् । आक्रामक ब्याटिङका लागि परिचित वेस्ट इन्डिजका आन्द्रे रसेलसँगै अस्ट्रेलिया डेविड वार्नर, दक्षिण अफ्रिका डेविड मिलर, जिम्वावेका सिकन्दर रजा, पूर्वविश्व नम्बर एक बंगलादेशी अलराउन्डर सकिब अल हसन, इंगल्याण्डका मोइन अली,डेभिड मलानलगायतका चर्चित क्रिकेटरले एनपीएल खेले।
चर्चित खेलाडीले नेपाल आएर अपेक्षाअनुरूप रन बनाउन सकेनन्। रन बनाउन नसक्दा विदेशी खेलाडीले पिचको दोष लगाएका छन्। पिच असाधारण भएको भन्दै खेलाडीले प्रश्न गर्ने गरेका छन्।
चितवन राइनोजका कप्तान सिकन्दर राजाले नेपालको क्रिकेट पिच (विकेट) सुधार गर्नुपर्नेमा जोड दिएका छन्। आइतबार खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै राजाले नेपालले विश्वका शीर्ष टोलीहरूसँग साँचो अर्थमा प्रतिस्पर्धा गर्ने हो भने ब्याटिङका लागि अझ राम्रा पिच बनाउनुपर्ने बताए।
उनले भने, “अन्तर्राष्ट्रिय क्रिकेटमा ब्याटिङका लागि राम्रा र ‘ट्रु’ पिच हुन्छन्। नेपाली खेलाडीले अर्को स्तरमा पुग्न २०० रन बनाउन र बलरहरूले १८०/२०० रन जोगाउन सिक्नुपर्छ। यो फ्रेन्चाइज लिगको मात्र होइन, नेपाली राष्ट्रिय टिमकै भविष्यको कुरा हो।”
राजाले राम्रा पिचमा खेल्दा बलरहरूको कौशल बढ्ने र ब्याटरहरूको आत्मविश्वास पनि उच्च हुनुका साथै दर्शकले चौका र छक्का हेर्दा खेल अझ रोमाञ्चक हुने बताए।
यस्तै जिमी निशम,मोइन अली,डेभिड मलानले पनि पिचप्रति प्रश्न गरेका थिए।
लिग चरणका कुल २८ खेल सम्पन्न हुँदा ९ इनिङमा १०० रनसमेत बन्न सकेनन् भने २४ इनिङमा १३० रनभन्दा कम रन बन्यो।
उसो त रन नबनेको पनि होइन्। कीर्तिपुर मैदानमै सर्वाधिक रन बन्ने रेकर्ड समेत बनेको छ । काठमाडौं गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सले एनपिएल इतिहासकै सर्वाधिक २२४ रनको योगफल बन्यो।
काठमाडौंका कप्तान करण केसीको भने पिचबारे मिश्रित प्रतिक्रिया रहेको छ। उनले भने,पिचमा जम्नसक्यो भने सजिलै रन बनिरहेको छ। सबैकुरा पिचलाई पनि दोष लगाउन मिल्दैन्।
लिग चरणबाट लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डौ गोर्खाज र चितवन राइनोज प्लेअफमा पुगेका छन्।
