सामग्रीमा जानुहोस्
शुक्रबार, मंसिर ४, २०८३

सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा, उपाधि भिडन्त फेरि लुम्बिनीसँगै

सुदूरपश्चिम रोयल्स शुक्रबार चितवन राइनोजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। सुदूरपश्चिमले क्वालिफायर २ मा चितवनलाई ३ विकेटले पराजित गर्‍यो।

रथ्नायकेले अविजित ५३ रन बनाएपछि सुदूरपश्चिमले १ सय ३४ रनको लक्ष्य १९.५ ओभरमा १३६ रन बनाउँदै पूरा गरेको थियो। अन्तिम दुई बलमा विजयका लागि २ रन आवश्यक भएको समयमा रत्नायकेले विजयी चौका प्रहार गरेका थिए ।

सुदूरपश्चिम लगातार तेस्रो सिजन फाइनल प्रवेश गरेको हो । टोलीले शनिबार हुने उपाधि भिडन्तमा लुम्बिनी लायन्सको सामना गर्नेछ । लुम्बिनीले मंगलबार भएको क्वालिफायर १ मा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै फाइनल पुगेको थियो।

सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा रहेको छ । टोली पहिलो सिजन जनकपुर बोल्ट्स र दोस्रो सिजन लुम्बिनीसँग फाइनलमा पराजित भएको थियो।

सुदूरपश्चिमका लागि थरिन्दुले अविजित रहँदै सर्वाधिक ५३ रन बनाए । उनले ४२ बल खेल्दै ७ चौका प्रहार गरे । थरिन्द्रले विजयी चौका प्रहार गरेका थिए ।

आक्रमक ब्याटिङ गरेका ओपनर विनोद भण्डारीले १३ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा २३ रन जोडे । पहिलो विकेटका लागि विनोदले जर्ज मन्सेसँग २३ रनको साझेदारी गरेका थिए ।

तर ओपनर जर्ज मन्सेल भने लगातार दोस्रो खेलमा प्रभाव पार्न सकेनन् । उनी १५ बल खेलेर ८ रनमा आउट भए ।

वान डाउनमा ब्याटिङ गरेका स्कट कुगेलेइन २ र इशान पाण्डे १० रनमा आउट हुँदा सुदूरपश्चिम ४५-४ को स्थितिमा पुगेको थियो ।

त्यसपछि थरिन्दुले पाँचौ विकेटका लागि कप्तान दीपेन्द्रसिंह ऐरीसँग ३१ र छैटौं विकेटका लागि आरिफ शेखसँग २६ रनको साझेदारी गरे । कप्तान दीपेन्द्रसिंह ऐरीले १५ तथा आरिफ शेख १० रन बनाएर आउट भए ।

तर थरिन्दुले एक छेउ सम्हाल्दै सुदूरपश्चिमलाई जितसम्म पुर्‍याए ।

बलिङमा चितवनका लागि रन्जित कुमारले २ तथा कमल सिंह ऐरी, रिजन ढकाल, उसामा मिर र सलाहुद्दिन खानले १-१ विकेट लिए ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । चितवनका मलानले अविजित ७१ रन बनाए ।

ओपनर कमिल मिशारा दोस्रो ओभरमै व्यक्तिगत ४ रनमा आउट भएपछि वान डाउनमा ब्याटिङ गर्न आएका मलानले अन्तिमसम्म ब्याटिङ गर्दै अविजित ७१ रन बनाए । उनले ५१ बल खेल्दै ९ चौका र २ छक्का प्रहार गरे ।

मलानले सातौं विकेटका लागि सलाउद्दिन खानसँग ३१ बलमा ४० रनको साझेदारी गरे । आठौं नम्बरमा ब्याटिङ गरेका खानले १६ बलमा १ छक्का मद्दतमा १८ रन जोडे । यस्तै कमलसिंह ऐरीले ८ बलमा १ छक्का मदतमा १० रन बनाए ।

बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर कमिलश मिशारा ४, देव खनाल ६ रनमा आउट हुँदा, कप्तान रवि बोपारा र कुशल मल्ल समान १, विवेक यादव ३, उसामा मिर २ रन बनाएर आउट भए । रिजन ढकाल ४ रनमा अविजित रहे ।

बलिङमा सुदूरपश्चिमका लागि स्कट कुगुलेइनले ३, थरिन्दु रत्नायकेले २ तथा हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले १-१ विकेट लिए।

सेयर गर्नुहोस्

21Shares