कर्णाली प्रदेशमा आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुने भएपछि तयारी तीव्र पारिएको छ। प्रतियोगिताअन्तर्गत बाँकेमा पौडी र सुटिङ तथा बर्दियामा खोखो र टेनिस खेल हुँदैछन्।
ती खेल सञ्चालनका लागि आवश्यक पूर्वाधार मर्मत तथा व्यवस्थापनको काम भइरहेको साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दले जानकारी दिए। नेपालगन्ज रङ्गशालास्थित पौडी पोखरीमा रङरोगन, टायल परिवर्तन र मर्मतसम्भारको काम भइरहेको छ।
पौडी पोखरीको अवस्था सामान्यतः राम्रो भए पनि बाहिरी भागका टायल उप्किएकाले सुधारको काम अन्तिम चरणमा पुगेको चन्दले बताए।
यस्तै, बर्दियाको ठाकुरबाबा नगरपालिकास्थित भुरीगाउँको खोखो कभर्ड हल प्रतियोगिताका लागि तयार पारिएको छ। बर्दियामै हुने टेनिस प्रतियोगिता गुलरियास्थित कभर्ड हलमा सञ्चालन हुनेछ। दुवै खेलस्थलमा आवश्यक मर्मत तथा पूर्वाधार व्यवस्थापनको काम अघि बढाइएको छ।
दसौं राष्ट्रिय खेलकुदअन्तर्गत मङ्सिर ८ गतेदेखि विभिन्न खेलमा प्रतिस्पर्धा सुरु हुनेछ। प्रतियोगिताको औपचारिक उद्घाटन भने मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ।
प्रतियोगितामा ३२ खेलका ३८४ इभेन्ट समावेश छन्। सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताका खेल कर्णाली प्रदेशका पाँच र लुम्बिनी प्रदेशका दुई जिल्लामा सञ्चालन हुनेछन्। सुर्खेतमा २३ खेल आयोजना हुँदा नेपालगन्ज, बर्दिया र सल्यानमा समान दुई–दुई तथा दैलेख, कालीकोट र पश्चिम रुकुममा एक–एक खेल हुनेछन्।
बर्दियाको भुरीगाउँमा मङ्सिर १९ देखि २३ गतेसम्म खोखो प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी हुनेछन्।
यसका लागि प्रदेश तथा विभागीय टोलीले खेलाडी छनोट गरिसकेका छन्। लुम्बिनी प्रदेश खोखो सङ्घका महासचिव तथा प्रशिक्षक खगेन्द्र शाहीले लुम्बिनी प्रदेशको टोली छनोट भइसकेको जानकारी दिए। अन्य प्रदेश र विभागीय टोली पनि प्रतियोगिताका लागि तयार रहेको उनले बताए।
भुरीगाउँस्थित कभर्ड हल खोखो खेलका लागि निर्माण गरिएको नेपालकै सुविधासम्पन्न हलमध्ये एक हो। म्याटसहितको सुविधा रहेको हलमा रङरोगन तथा आवश्यक मर्मतसम्भारको काम भइसकेको छ।
ठाकुरबाबा नगर खेलकुद विकास समितिका अध्यक्ष तीर्थबहादुर खड्काका अनुसार कभर्ड हलमा बत्ती तथा अन्य आवश्यक व्यवस्थापनको काम पूरा भएको छ।
तर, आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका बेला प्रयोग गरिएको म्याट पुरानो र जीर्ण अवस्थामा छ। करिब एक दशक पुरानो म्याट फेर्नुपर्ने उनले बताए। बर्दियामा प्रतियोगिता सञ्चालनको तयारीबारे राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेशस्तरीय प्राविधिक टोलीले पटक–पटक अनुगमन गरिसकेका छन्।
बर्दिया खेलकुद विकास समितिका पूर्वअध्यक्ष खगेन्द्र खनालले प्रतियोगिता व्यवस्थित रूपमा सम्पन्न गर्न स्थानीय सरकार, खेलकुद विकास समिति र सरोकारवाला निकाय जुटिरहेको बताए।
यस्तै, बाँकेको नेपालगन्जस्थित रङ्गशालामा पौडी र सुटिङ प्रतियोगिता सञ्चालन हुनेछन्। पौडी मङ्सिर ८ र सुटिङ मङ्सिर १६ गतेदेखि सुरु हुने तालिका छ।
पौडी पोखरीको निरीक्षणका लागि शनिबार प्राविधिक टोली नेपालगन्ज आउने तयारी रहेको प्रमुख चन्दले बताए।
उनका अनुसार सुटिङ रेन्जका बिग्रिएका १० वटा उपकरण मर्मत गर्न विदेशबाट आवश्यक पाटपुर्जा मगाइएको छ। ती सामान आइपुगेपछि जडान गरेर सुटिङ रेन्जलाई प्रतियोगिताका लागि तयार पारिनेछ।
प्रतियोगितामा व्यक्तिगततर्फ स्वर्ण पदक विजेताले २० हजार, रजत विजेताले १५ हजार र कास्य विजेताले आठ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। टोली स्पर्धामा स्वर्ण जित्नेले १५ हजार, रजतले १० हजार र कास्यले आठ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
कर्णाली प्रदेशलाई मुख्य आयोजनास्थल बनाएर सञ्चालन हुन लागेको प्रतियोगिताका केही खेल लुम्बिनी प्रदेशमा पनि आयोजना हुँदा यस क्षेत्रका खेल पूर्वाधारको उपयोग र खेल गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। राष्ट्रियस्तरको प्रतियोगिता आफ्नै क्षेत्रमा हुँदा स्थानीय खेलाडीले घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्।
