काभा नेसन्स लिगमा आज नेपाल र भारतबीच भीड्दै

3 Aug, 2024
Share:
117 Shares

काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र भारत भिड्दैछन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने आजको पहिलो खेलमा यी दुई टोली आमनेसामने हुन लागेका हुन्। यो खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ।

लिग चरणमा एक खेल मात्र खेलेको नेपालको खातामा ३ अंक मात्र छ। नेपालले लिगको उद्घाटन खेलमा श्रीलंकामाथि ३–० को सोझो सेटमा जित हात पारेको थियो।

लिग चरणको दुई खेलमा अपराजित रहेको भारत ६ अंकमा तालिकाको शीर्ष स्थानमा छ। पहिलो खेलमा इरानमाथि ३–१ को सेटमा विजयी भएको भारतले लिग चरणको दोस्रो खेलमा मालदिभ्सलाई सोझो सेटमा पाखा लगाएको थियो।

जारी लिगमा भारत नेपालका लागि बलियो प्रतिद्वन्दी मानिन्छ। यसअघिका भेटमा नेपालमाथि भारतीय टोली हाबी हुँदै आएको छ।

सन् २०१९ मा घरेलु मैदानमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले भारतलाई १ सेट मात्र पराजित गरेको थियो। त्यो नै नेपालको अहिलेसम्मको उत्कृष्ट नतिजा हो। तर पनि नेपाल सागमा भारतसँग पराजित भएको थियो।

आजै हुने दोस्रो खेलमा इरान र मालदिभ्स खेल्नेछन्। सोही कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुने तालिका छ।