काभा महिला भलिबलको फाइनलमा भारतसँग चुक्यो नेपाल

7 Aug, 2024
Share:
117 Shares

घरेलु मैदानमा आयोजित काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्ने लक्ष्य बनाएको नेपाली टिम फाइनलमा चुकेको छ।

बुधबार साँझ त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको फाइनलमा नेपाल भारतसँग ३–२को सेटमा पराजित हुँदै उपाधिबाट वञ्चित भयो।

खेलमा नेपालले पहिलो सेट २५–२३ ले जित्दै राम्रो सुरुआत गरेको थियो। तर, दोस्रो सेटमा भारतले उत्कृष्ट पुनरागमन गर्दै नेपालमाथि २५–१४को फाराकिलो जित निकाल्यो।

तेस्रो सेट नेपालले जित्यो, र खेलमा २–१को अग्रता बनायो। २२–१९ले पछि परेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गर्दै सेट २५–२२ले जितेको थियो। तर, चौथो र पाचौं सेटमा नेपालले निरन्तर गल्ती गर्दा भारत भावी भएको थियो। भारतले चौथो सेट २५–२१ र पाँचौं सेट १५–५ले जितेको थियो।

योसँगै भारत समूह चरणमा नेपालसाग प्राप्त हारको बदला लिँदै च्याम्पियन बनेको छ।