काभा महिला भलिबलको उपाधिका लागि नेपालले भारतको सामना गर्दै

7 Aug, 2024
Share:
117 Shares

घरेलु मैदानमा काभा वुमन्स नेसन्स भलिबलको उपाधि जित्ने लक्ष्य राखेको नेपालले त्यसका लागि प्रतियोगिताको अन्तिम खेल अर्थात् फाइनलमा भारतको सामाना गर्दै छ।

नेपाल र भारतको फाइनल त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा साँझ ५ बजे सुरु हुनेछ।
घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई मंगलबार ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा भारतसँगको भिडन्त पक्का गरेको हो। यता, भारतले पनि श्रीलंकालाई ३–० कै सेटमा हराएको थियो।

प्रतियोगितामा सहभागी सबै टिमलाई पराजित गरिसकेकाले नेपाली टिम उत्साहित छ। नेपालले भारतलाई समूह चरणमा ३–२को सेटमा हराएको थियो। महिला भलिबलमा भारतविरुद्ध नेपालको पहिलो जित थियो।

त्यसैले नेपाली टिम एउटै प्रतियोगितामा भारतलाई २ पटक हराउँदै उपाधि जित्न चाहन्छ। त्यसका लागि नेपालले सबै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने छ भने गल्तीहरूलाई कम गर्नुपर्ने छ। नेपालका लागि निरुता ठगुन्ना, उषा भण्डारी र सरस्वती चौधरीको प्रदर्शन महत्वपूर्ण हुनेछ।