काभा वुमन्स भलिबल लिग : नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने

26 Jul, 2024
Share:
117 Shares

काभा वुमन्स नेसन्स लिग भलिबलको खेल तालिका र ट्रफी सार्वजनिक भएको छ।

नेपाल भलिबल संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आयोजना हुने जानकारी गराएको हो।

प्रतियोगितामा नेपालसहित मध्य एसियाका ५ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। एनभिएका अनुसार नेपाल, भारत, श्रीलंका, माल्दिभ्स र इरानले प्रतियोगितामा सहभागिता जनाउनेछन्।

नेपालले उद्घाटन खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो दिनमै भारत र इरानबीच दोस्रो खेल हुनेछ। नेपालले दोस्रो खेल साउन १८ गते भारतसँग, तेस्रो खेल साउन १९ गते इरानसँग र चौथो खेल साउन २० गते माल्दिभ्ससँग खेल्नेछ।

लिग चरणको खेलपछि शीर्च चारमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन्। लिगमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो भएको टोलीबीच सेमिफाइनल खेल हुनेछ। प्रतियोगितामा लिग चरणका १०, सेमिफाइनल २ तथा फाइनल र तेस्रो स्थान खेल गरी कूल १४ खेल हुनेछ।

यसैगरी काभा वुसन्स लिगको विजेताले पाउने ट्रफी पनि शुक्रबारै सार्वजनिक गरिएको हो । एनआरएनएका पूर्व अध्यक्ष उपेन्द्र महतोले विजेताले पाउने ट्रफी अनावरण गरेका छन्।

ट्रफी अनावरण गर्दै एनआरएनएका पूर्व अध्यक्ष उपेन्द्र महतोले रसियन टिमसँगको मैत्रीपूर्ण खेल सफलतापूर्वक सम्पन्न भएको भन्दै काभा वुमन्स नेसन्स लिगमा विजेता बन्न शुभकामना दिए।