एनभिए भलिबलमा पुलिसकाे जित

19 Mar, 2024

आठौं आरबीबी एनभिए महिला तथा पुरुष च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीसँगै ३ भारतीय खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लबलाई ३-२ को सेटमा रोमाञ्चक जित हात पारेको छ।

पुलिससँग पराजित भए पनि तीन खेलमा ७ अंकका साथ एभरेष्ट क्लब समूह एबाट सेमिफाइनलमा पुगेको छ। पुलिसले दोस्रो, चौथो र पाँचौं सेटमा हात पारेको हो। प्रतियोगितामा पाँचौं सेटमा पुगेको यो पहिलो खेल हो ।

मंगलबार राखेप कभर्ड हलमा एभरेष्टलाई २७-२५, १८-२५ र २५-१६, २५-२७, ९-१५ ले पुलिसले हराएको हो। निर्णायक पाँचौं सेटमा ३-१ ले पछि परेको पुलिसले एभरेष्टको कमजोर रिसिभको फाइदा उठाउँदै १५-९ ले जित्दै खेलमा २ महत्वपूर्ण अंक थपेको छ ।

चौथो सेटमा पुलिस एक समय १३-८ ले अघि थियो। तर, एभरेष्टले उत्कृष्ट पुनरागमन गर्दै १६-१६ को बराबरी गरेपछि पुलिसले टाइम आउट नै लिएको थियो ।

लगातार ९ अंक जोडेपछि एभरेष्ट एक समय २१-१६ को बलियो अवस्थामा थियो । पुलिसले पुन: उत्कृष्ट पुनरागमन गर्दै २२-२२ मा पुर्‍याउँदै खेललाई पुन: प्रतिस्पर्धा गराएको थियो । पुलिसले २७-२५ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो ।

समूह ए मा एभरेष्ट ३ खेलमा २ मा जित र १ मा हारसहित ७ अंकका साथ शीर्ष स्थानमा छ ।

एभरेष्टमा भारतीय टोलीबाट पहिलो रोजाइमा खेल्ने स्टार मिडल ब्लकर सूर्या थोटंगल, केपी अनुश्री र जिन्सी जोनसन छन्।

पुलिस २ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा छ। आर्मी २ खेलबाट एकमा जित र एकमा हार ब्यहोर्दै ३ अंकका साथ तेस्रो स्थानमा छ। कर्णाली तीनै खेलमा हारका साथ बाहिरिएको छ। आज भएको पहिलो खेलमा आर्मीले कर्णालीलाई २५-१६, २५-२३ र २५-७ ले हराएको थियो।

बुधबार पुलिस र आर्मीबीच खेल हुनेछ। उक्त खेलमा आर्मीले पुलिसलाई ३-१ को सेटमा हराएमा सेमिफाइनलमा पुग्नेछ। पाँचौं सेटमा पुगेर जित्दा भने सेमिफाइनलमा पुग्न सक्ने छैन। पुलिसलाई सेमिफाइनलमा पुग्न जित वा पाँचौं सेटमा हार्दा पनि पर्याप्त हुनेछ।

समूह बी मा न्यू डायमण्ड एक खेलमा ३ अंकका साथ शीर्ष स्थानमा छ। एपीएफ २ खेलमा एकमा जित र एकमा हारसहित तीन अंकका साथ दोस्रो स्थानमा छ। मधेश एक खेलमा पराजित हुँदै पुछारमा छ । भोलि न्यू डायमण्ड र मधेशबीच खेल हुनेछ। उक्त नतिजापछि सेमिफाइनलमा पुग्ने समूह बी का दुई टोलीको टुङ्गो लाग्नेछ।

पुरुषतर्फ भने १३ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। पुरुषतर्फ समूह ए मा हेल्प नेपाल स्पोर्टस क्लब, कोशी प्रदेश र ढोरपाटन क्लब छन् । समूह बी मा नेपाल एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र छन्।

समूह सी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बूढानीलकण्ठ भलिबल क्लब छन् । समूह डी मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब र न्युटन भलिबल क्लब छन्।

पुरुषतर्फ हरेक समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । समूह सी बाट पुलिस समूह विजेता र बूढानीलकण्ठ भलिबल क्लब उपविजेता बन्दै क्वाटरफाइनलमा पुगिसकेका छन्।