पुलिसको पुरुष टिम आरबीबी एनभिए भलिबलको क्वाटरफाइनलमा

18 Mar, 2024

विभागीय नेपाल पुलिस क्लब आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

समूह चरणको अन्तिम खेलमा बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेताको रुपमा पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको हो।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार भएको खेलमा पुलिसले बुढानिलकण्ठमाथि २५–१९, २५–१४ र २५–२२ को सहज जित निकाल्यो।

त्यस्तै सोमबार नै प्रतियोगीताको महिलातर्फ एभरेष्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ ले पराजित गर्यो। एभरेष्टले आर्मीलाई २४–२६,२५–१७,२५–१७,२५–२२ ले पराजित गरेको हो।

त्यस्तै सोमबार नै भएको महिलातर्फको अर्को खेलमा न्यु डायमण्डले उपाधि दावेदार एपिएफमाथि ३–१ को सेटमा पराजित गर्दै जित निकाल्न सफल भयो। डायमन्डले एपिएफ क्लबलाई २५–१७, १७–२५, २५–१५ र २५–२३ ले पराजित गरेको हो।

नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ। दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।