टाइगर कप भलिबलमा महिलातर्फ एपीएफ र पुरुषतर्फ पुलिस फाइनलमा

1 Feb, 2025
Share:
117 Shares

पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फ नेपाल एपीएफ क्लब र पुरुषतर्फ नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेका छन् । पोखरा रंगशालामा शुक्रबार आयोजक टाइगर ग्रुप अफ पोखरालाई पराजित गर्दै एपीएफ क्लबले फाइनलमा स्थान पक्का गरेको हो ।

साविक विजेता एपीएफले आयोजक टोलीलाई ३–१ ले पराजित गर्‍यो । पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २१–२५ ले टाइगर ग्रुपलाई सुम्पिएको थियो । तेस्रो सेट २५–१९ र चौथो २६–२४ ले जित निकाल्दै एपीएफले फाइनल यात्रा तय गर्‍यो ।

पराजित भएको आयोजक टाइगर ग्रुपले शनिबार फाइनल प्रवेशका लागि टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लबसँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ।

पुरुषतर्फ फाइनल प्रवेश गर्ने क्रममा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्‍यो । आर्मी समूह चरण शीर्ष र पुलिस दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान पक्का गरेका थिए । पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २२–२५ ले आर्मीलाई सुम्पिएको थियो । तेस्रो सेट २५–२२ ले जितेको पुलिसले पुनः चौथो सेटमा २३–२५ ले हार बेहोर्‍यो । तर, पाँचौं सेटमा उत्कृष्ट प्रदर्शन गर्दै १५–१२ जित निकाल्यो ।

आर्मीले अब शनिबार गण्डकी प्रदेशसँग दोस्रो क्वालिफायर खेल्नेछ।

प्रतियोगितामा शुक्रबार एलिमिनेटरमा भारतको सुनील भलिबल क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश पुरुषतर्फ दोस्रो क्वालिफायरमा प्रवेश गरेको थियो । गण्डकीले ३–१ को सेट जित हात पारेको थियो।

महिला र पुरुषतर्फ विजेताले समान ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ, दोस्रो हुनेले २ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ र तेस्रो हुनेले १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।