सुनसरीको इटहरीमा मुख्यमन्त्री कप रात्रिकालिन राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ। जेठ २९ गतेदेखि ३२ गतेसम्म प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा प्रादेशिक रंगशाला, इटहरीमा प्रतियोगिता हुन लागेको हो।
प्रतियोगिताका विषयमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउने जानकारी दिइयो। यस्तै, सो अवसरमा सर्वोत्कृष्ट खेलाडीलाई ५५ हजार तथा विधागत उत्कृष्ट खेलाडीहरुलाइृ १५ हजार रुपैयाँ दिइने जानकारी दिइयो।
प्रतियोगितामा तीन विभागीयसहित ६ टिमको सहभागिता रहने आयोजक प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले जानकारी दिए। विभागीय टिम नेपाल आर्मी, नेपाल पुलिस र एपीएफसहित वाग्मती, लुम्बिनी र कोशी प्रदेश टिम सहभागी हुने निश्चित भएको वाग्लेले जानकारी दिए।
कुल २५ लाख रुपैयाँ खर्च हुने प्रतियोगितामा प्रत्येक टिमका १२ खेलाडी, एक प्रशिक्षक र एक व्यवस्थापक गरी १४ जनालाई यातायात खर्च र नियम अनुसार दैनिक भ्रमण भत्ता उपलब्ध गराइने पनि आयोजकले जनाएको छ।
अत्यधिक गर्मीको मौसम रहेकाले प्रतियोगिता रातिको समयमा आयोजना गर्न लागिएको सुनसरी जिल्ला भलिबल संघका अध्यक्ष विक्रमबाबु थापाले बताए। यसअघि प्रतियोगिता जेठ १८ देखि २१ गतेसम्म इटहरीमै आयोजना गर्ने कार्यतालिका रहे पनि सदस्य सचिव बर्खास्ती प्रकरणले ढिलाइ भएको हो।
मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता भने गत वैशाख १४ देखि १७ गतेसम्म झापाको दमकमा सम्पन्न भइसकेको छ।