भलिबल

मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाइनल समीकरण पुरा

इटहरीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा समीकरण पूरा भएको छ। इटहरी रंगशालामा जारी रात्रिकालिन प्रतियोगिताको समूह चरणको अन्तिम दुई खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको हो।

समूह चरणको दुवै खेलमा शतप्रतिशत जित निकाल्दै एपिएफ र नेपाल पुलिस क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । यस्तै एकमा जित र एकमा हारसँगै त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले पनि सेमिफाइनलमा स्थान बनाएका छन्।

आज साँझ हुने पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता एपिएफ र समूह ‘बी’को उपविजेता त्रिभुवन आर्मीबीच प्रतिष्पर्धा हुनेछ।

आजै राति हुने दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता नेपाल पुलिस क्लब र समूह ‘ए’को उपविजेता बागमती प्रदेशबीच खेल हुनेछ ।

प्रतियोगिताको फाइनल बिहीबार राति हुनेछ। विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५५ हजार पाउने छन् ।