इटहरीमा भएको मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । इटहरीमा बिहीबार साँझ सम्पन्न फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ३–० को सोझो सेटले हराएको हो।
इटहरी रंगशालामा खेलको पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–१८ ले नतिजा निकालेको थियो । पुलिसले ३ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता एपीएफले १ लाख ५० हजार रुपैयाँ पायो।
सर्वोत्कृष्ट खेलाडी पुलिस क्लबकी पुनम चन्द भइन् । उनले ५५ हजार रुपैयाँ पुरस्कार पाइन् ।
बेस्ट स्पाइकर एपीएफकी सरस्वती चौधरी, बेस्ट ब्लकर वाग्मती प्रदेशकी सुमित्रा रेग्मी, बेस्ट सर्भर पुलिसकी उषा भण्डारी, बेस्ट सेटर पुलिसकी कामना पुन र बेस्ट लिबेरो पुलिसकी शान्ति तामाङ भए।
उत्कृष्ट प्रशिक्षक पुलिसका रुपेश विष्ट भए । विधागत उत्कृष्टले जनही १५ हजार प्राप्त गरे । समूह चरणमा पुलिसले त्रिभुवन आर्मी र लुम्बिनी प्रदेशलाई हराएका थियो । पुलिसले सेमिफाइनलमा वाग्मती प्रदेशलाई हराउँदै फाइनल खेलेको हो । समुह चरणमा वाग्मती र कोशी प्रदेशमाथि सहज जित पाएको एपीएफले सेमिफाइनलमा आर्मीलाई रोकेको थियो।