च्याम्पियन्स लिग प्लेअफमा रियल मड्रिड र म्यानचेस्टर सिटी भिड्दै

11 Feb, 2025
Share:
117 Shares

अन्तिम १६ प्रवेशका लागि च्याम्पियन्स लिगको प्लेअफमा रियल मड्रिड र म्यानचेस्टर सिटीबीच भिडन्त हुँदैछ। दुवै दाबेदार टिम समूह चरणको शीर्ष ८ मा पर्न असफल भएपछि प्लेअफको बाटोबाट नकआउट चरणको सम्भावना खोज्दैछन्।

रियलले समूह चरण ११औं स्थानमा रहेर सकायो भने सिटी २२औं स्थानमा रहेपछि दुई लेगको प्लेअफ खेल्नुपर्ने भएको हो। पेप ग्वार्डिओलाको सिटीले प्लेअफको पहिलो लेगमा आफ्नो घरेलु मैदानमा रियलको सामना गर्नेछ।

दुई लेगको नतिजाबाट एग्रिगेटमा जीत हासिल गर्ने टिम अन्तिम १६ मा पुग्नेछ। जहाँ उसको सामना एट्लेटिको मड्रिड वा बायर लेभरकुसेनमध्ये एकसँग हुनेछ।

इंग्लिस प्रिमियर लिगमा पनि सिटीले निराशाजनक प्रदर्शन गरिरहेको छ। लिग तालिकामा पाँचौं स्थानमा रहेको सिटी शीर्षस्थानको लिभरपुलभन्दा १५ अंकले पछि परेको छ।

पछिल्लो ६ सिजनमा पाँचौं पटक सिटीले च्याम्पियन्स लिगको नकआउट चरणमा रियलको सामना गर्दैछ। गत सिजनको क्वाटरफाइनलमा यी दुई टोली भिड्दा पेनाल्टी सुटआउटमा रियल विजयी बनेको थियो। त्यसपछि कार्लो रियलले आफ्नो १५औं च्याम्पियन्स लिग उपाधि जितेको थियो।

रियलको पछिल्लो प्रदर्शन पनि मिश्रित छ। उसले कोपा डेल रे क्वाटरफाइनलमा लेगानेसलाई स्टपेज टाइममा गोल गर्दै ३–२ ले हरायो। शनिबार ला लिगाअन्तर्गत मड्रिड डर्बीमा एट्लेटिको म्याड्रिडसँग १–१ को बराबरी खेल्यो। ला लिगाको शीर्ष स्थानमा रहे पनि रियलले पछिल्ला दुई लिग खेलमा एक अंक मात्र जोडेको छ।

यस्तै, च्याम्पियन्स लिग प्लेअफकै अन्य खेलमा पेरिस सान्ट जर्मान (पीएसजी)ले ब्रेस्टको सामना गर्दैछ। युभेन्टसले पीएसभीसँग खेल्दैछ भने डर्टमन्ड स्पोर्टिङसँग भिँड्दैछ।