ताजकिस्तानको ब्ल्याक बुल्स बन्यो आहा राराको नयाँ च्याम्पियन, पुलिस फाइनलमा चुक्यो

15 Feb, 2025
Share:
117 Shares

आहारारा पोखरा गोल्डकपले नयाँ च्याम्पियन पाएको छ। आहाराराले ताजकिस्तानको ब्ल्याक बुल्सको रुपमा नयाँ च्याम्पियन पाएको हो।

शनिबार पोखरा रंगशालामा भएको फाइनलमा प्रतियोगिताको सर्वाधिक सफल टिम नेपाल पुलिस क्लबलाई ३–१ले हराउँदै ब्लयाक बुल्सले पहिलो सहभागीतामै उपाधि जितेको हो।

ब्ल्याक बुल्सका लागि कुभोनचबेक ओलिनोभले ४०औं, असिलबेक ओरिफजोनोभले ५८औं तथा साभकातजोन सात्तोरोधले ६६औं मिनेटमा गोल गरे। पुलिसका शिशिर चौधरीले ७४औं मिनेटमा गरेको गोल सान्त्वना बन्यो ।

आहाराराको उपाधि जित्ने ब्ल्याक बुल्स दोस्रो विदेशी र समग्रमा आठौं टिम हो। यसअघि २०६२ सालमा पुलिसलाई नै हराएर अफ्रिकन युनाइटेडले उपाधि जितेको थियो।

पाँच वर्षपछि आहा राराको फाइनलमा पुगेको पुलिस पाचौँ पटक उपविजेतामा सिमित बनेको हो।

यसअघि सभापति कप, बुढासुब्बा गोल्डकप, भरतपुर गोल्डकपमा पहिलो खेलबाटै बाहिरिएको पुलिस आहारारामा ३ खेल जित्दै फाइनल पुगेको थियो।

विजेता ब्ल्याक बुल्सले १२ लाख १ हजारसहित आहाराराको आकर्षक ट्रफी प्राप्त गर्‍यो भने उपविजेता पुलिसले ६ लाख १ हजारमा चित्त बुझायो।