मारमुसको ह्याट्रिकमा न्युकासलमाथि सिटीको सानदार जित, नटिङहम पराजित

16 Feb, 2025
Share:
117 Shares

ओमर मरमुसले ह्याट्रिक गरेपछि म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ। शनिबार राति भएको खेलमा सिटीले न्युकासल युनाइटेडमाथि फराकिलो ४–०को फराकिलो जित निकाल्यो।

सिटीको जितमा मारमुसले पहिलो हाफमै ह्‍याट्रिक गरेका थिए भने अर्को गोल जेम्स म्याकटीले गरे।

मरमुसले १९औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। २४औं उनले नै सिटीको अग्रता दोब्बर बनाए। ३३औं मिनेटमा गोल गर्दै उनले सिटी र प्रिमियर लिगमा पहिलो ह्याट्रिक पुरा गरे।

पहिलो हाफमै तीन गोल गरेको सिटीले दोस्रो हाफमा एक गोल थप्यो। ८४औं मिनेटमा जेम्स म्यकटीले गोल गरेपछि सिटीले खेल ४–०ले जित्यो।

जितपछि सिटीको २५ खेलमा ४४ अंक भएको छ। र, ऊ चौथो स्थानमा उक्लिएको छ। पराजित न्युकासलको ४१ अंकसहित सातौं स्थानमा छ।

यस्तै, अर्को खेलमा यो सिजन उत्कृष्ट लयमा रहेको टिम नटिङ्हम फरेस्ट पराजित भयो। उसलाई फुलहमले २–१ले हरायो। खेलमा फुलमहका इमिल स्मिथ रोव र काल्विन बासीले गोल गरेका थिए भने नटिङ्हमका क्रिस उडले गोल गरेका थिए।