एपीएफलाई हराउँदै चर्च बोइज बागमती गोल्डकपको फाइनलमा

21 Feb, 2025
Share:
117 Shares

चर्च बोइज युनाइटेड मकवानपुरमा जारी सातौं बागमती गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

सहिद स्मृति रंगशालामा शुक्रबार भएको सेमिफाइनलमा विभागीय टिम एपिएफलाई ३–२ले हराउँदै चर्च बोइज उपाधि नजिक पुगेको हो।

चर्च बोइजको जितमा आर्मण्डले २ गोल गर्दा अर्को गोल सुमित श्रेष्ठले गरे। एपिएफका बुद्धिमान राई र हरि कार्कीले गोल गरेका थिए।

खेलमा अग्रता पनि चर्च बोइजले नै लियो। २८औं मिनेटमा उसका आर्मण्डले गोल गरेका थिए। त्यसको ४ मिनेटपछि नै उनले नै टिमको अग्रता दोब्बर बनाए।

त्यसपछि ३६औं मिनेटमा एपिएफका बुद्धिमानले गोल गर्दै टिमलाई खेलमा फर्काए। ४३औं मिनेटमा हरिले गोल गरेपछि खेलको पहिलो हाफ २–२को बराबरीमा सकियो।

तर, ८५औं मिनेटमा सुमितले गोल गर्दै पुनः चर्च बोइजलाई अग्रता दिलाए। त्यसपछि खेलमा थप गोल नहुँदा चर्च बोइज ३–२ले विजयी भयो।

अब चर्च बोइजले उपाधिका लागि सामेबार मछिन्द्र र थ्री स्टारबीचको विजेतासँग खेल्ने छ।