आइतबारदेखि सुरू हुने बी डिभिजिन लिगको तयारी पूरा, १४ क्लबबीच ९१ खेल हुने

7 Mar, 2025

अखिल नेपाल फुटबल संघले आइतबारदेखि सुरु हुने शहिद स्मारक बी डिभिजिन लिग २०८१ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी (एन्फा) ले आइतबारदेखि दशरथ रंगशालामा शहिद स्मारक बी डिभिजिन लिग २०८१ को सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।

एन्फाका अनुसार प्रतियोगितामा सिंगल राउन्ड रोबिनका आधारमा कुल ९१ वटा खेलहरु संचालन हुनेछन् । प्रतियोगिताको खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाइनेछ।

प्रतियोगितामा देशभरका १४ क्लबहरू सहभागी हुनेछन्। जसमा आरसिटी, श्री भगवती क्लब, टुसाल युथ क्लब, ब्रिगेड व्वाइज क्लब, ब्वाइज यूनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बाँसवारी क्लब, नयाँ बस्ती युथ क्लब, सरस्वती युथ क्लब, विरगञ्ज युनाइटेड क्लब, झापा फुटबल क्लब र प्लानिङ व्याइज युनाइटेड क्लब छन्।

एन्फाले लिगको मार्केटिङ, टिकेटिङ र ब्रोडकास्टिङ्ग अधिकार एमडिएसी स्पोर्ट्सलाई दिएको छ। लिगको टिकट दशरथ रंगशालामा सामान्यतर्फ १ सय र भिआईपी तर्फ ३ सय निर्धाण गरिएको छ भने एन्फा कम्प्लेक्समा १ सय रुपैयाँ कायम गरिएको छ ।

लिगको विजेताले १५ लाख, दोस्रो हुनेले १० लाख, तेस्रो हुनेले ५ लाख रुपैयाँ पाउने छन् भने फेयर प्ले टिमले १ लाख, सर्वोत्कृष्ट खेलाडी पनि १ लाख रुपैयाँ पाउने एन्फाले जनाएको छ। यस्तै, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समान ५० हजार रुपैयाँ पाउने छन्।

यस्तै, प्रत्येक खेलमा जित्ने टिमलाई २५ हजार र बराबरी भए दुवै टिमले समान १० हजार रुपैयाँ पाउने छन्।

शुक्रबार आयोजित पत्रकार सम्मेनलमा लिगको कुल बजेट ३ करोड ९३ लाख रहेको जानकारी दिइयो।