किरण चेम्जाेङ भन्छन्- नयाँ प्रशिक्षकसँग काम गर्न उत्साहित छौं, नतिजा पनि राम्रै आउने अपेक्षा छ

18 Mar, 2025
Share:
117 Shares

नेपाली राष्ट्रिय फुटबल टिमले आगामी साता सिंगापुर र मलेसियासँग खेल खेल्दैछ।

नेपालले सिंगापुरसँग मैत्रीपूर्ण र मलेसियासँग एएफसी एसियन कपको तेस्रो चरणको छनोट खेल्न लागेको हो।

नयाँ मुख्य प्रशिक्षक म्याट रोसको नेतृत्वमा रहेको नेपाली टिमलाई सिंगापुर र मलेसिया भ्रमणका लागि आज बिदाई गरिएको छ।

सो कार्यक्रममा नेपाली टिमका कप्तान कप्तान किरण चेम्जोङले नयाँ प्रशिक्षकसँग काम गर्न उत्साहित रहेको बताएका छन्। टोलीका सबै खेलाडीहरुले सकरात्मक लिएकाले आउने खेलमा पक्कै पनि केही परिवर्तन हुने अपेक्षा राखेको बताए।

‘हामी एकदमै उत्साहित छौं। यसपाली हाम्रो कोच पनि नयाँ हुनुहुन्छ र उहाँ पनि हामीसँग काम गर्न पाउँदा उत्साहित हुनुहुन्छ। नयाँ कोचले छोटो समयमा जतिपनि तालिम दिनुभएको छ,’ कप्तान किरणले भने ‘टोलीका सबै खेलाडीहरुले राम्रो तरिकाले लिएका छन्। केही नयाँ कुराहरु सिक्न पाएका छौं। पक्कैपनि केही परिवर्तन देख्न पाउनु हुनेछ।’

यस्तै, उनले आफूहरुको मूख्य लक्ष्य साफ च्याम्पियनसिप भएकाले त्यसअघि नेपालमै सिरिज खेल्न पाए राम्रो हुने बताए।

‘साफको तयारी भइरहेका बेला साफभन्दा दुई हप्ता अगाडि एउटा सिरिज नेपालमा नै खेल्न पाइयो भने एकदमै राम्रो हुने थियो, हेरौं के हुन्छ,’ उनले भने।

नेपालले मार्च २१ मा सिंगापुरसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि एसियन कप छनोटको अन्तिम चरणको पहिलो खेल मलेसियासँग मार्च २५ मा मलेसियामै खेल्नेछ ।