स्पेनिस ला लिगामा उपाधि दौडमा रहेका दुई टिम रियल मड्रिड र बार्सिलोना जित निकाल्न असफल भएका छन्।
शनिबार राति भउका ेखेलका रियल मड्रिड आफ्नै घरेलु मैदान सान्टियागो बर्नाबेउमा भालेन्सियासँग २–१ ले पराजित भयो भने शीर्ष स्थानमने बार्सिलोनाले रियल बेटिससँग १–१ को बराबरीमा रोकियो।
रियल मड्रिडको अप्रत्यासित हार
रियल मड्रिडले आज सान्टियागो बर्नाबेउमा भालेन्सियासँग खेलेको खेलमा पहिलो हाफमा भिनिसियस जुनियरले पेनाल्टीमा गोल गर्न नसकेपछि टिम दबाबमा परेको थियो। उनको प्रहार भ्यालेन्सियाका गोलकिपरले रोकेका थिए।
भालेन्सियाले १७औं मिनेटमा अग्रता लियो। उसका मौक्टार डियाखाबीले हेडरमार्फत गरेका थिए। पहिलो हाफ १–०मै सकियो। ५०औं मिनेटमा भिनिसियसले नै रियलका लागि बराबरी गोल गरे।
खेल बराबरीतर्फ उन्मूख भएका बेला अन्तिम समयमा (इजुरी समयको चौथो मिनेटमा)भालेन्सियाका ह्युगो डुरोले हेडरमार्फत विजयी गोल गरे। यो हारले रियल मड्रिडको ला लिगा उपाधि जित्ने सम्भावना कमजोर बनेको छ।
रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले खेलपछि भने, ‘यो हारले हामीलाई उपाधि जित्न गाह्रो बनाएको छ। हामीले अझै धेरै मेहनत गर्नुपर्छ।’
बार्सिलोना बराबरीमा रोकियो
अर्कोतर्फ, बार्सिलोनाले पनि रियल बेटिससँगको खेलमा जित हासिल गर्न सकेन। माउन्टजुइक ओलम्पिक स्टेडियममा भएको खेलमा बार्सिलोनाले पहिलो हाफको ८औं मिनेटमा गाभीले गोल गरेर अग्रता लिएको थियो।
तर रियल बेटिसले पनि पहिलो हाफमै जवाफ फर्कायो, जब नाथानले जियोभानी लो सेल्सोको कर्नर किकमा हेडरमार्फत गोल गरे। खेल १–१ को बराबरीमा सकियो।
खेलपछि बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले १ अंकमै सन्तुष्ट भएको बताए। खेलमा प्राप्त अवसर सदुपयोग गर्न नसक्दा अंक गुमाउनु परेको बताए।
यो बराबरीले बार्सिलोनाले अंक तालिकामा चार अंकको अग्रता कायम राखेको छ। तर रियल बेटिसविरुद्धको खेलमा जित हासिल गर्न नसक्दा बार्सिलोनाले अझ ठूलो अग्रता लिने अवसर गुमाएको छ।
बार्सिलोनाले यो सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ र अहिलेसम्म ला लिगा, कोपा डेल रे, र च्याम्पियन्स लिगमा बलियो दाबेदारी प्रस्तुत गरिरहेको छ।
रियल मड्रिड र बार्सिलोनाबीचको अर्को भेट मे ११, २०२५ मा बार्सिलोनामा हुने एल क्लासिकोमा हुनेछ, जुन खेलले ला लिगाको उपाधि दौडलाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ। त्यसअघि यी दुई टिम अप्रिल २६ मा कोपा डेल रे फाइनलमा पनि भिड्नेछन्।
ला लिगामा अहिले बार्सिलोना शीर्ष स्थानमा छ भने रियल मड्रिड दोस्रो स्थानमा छ। एट्लेटिको मड्रिड पनि उपाधि दौडमा रहेको छ, तर उनीहरूको सम्भावना कमजोर देखिन्छ।
आजको नतिजाले ला लिगाको उपाधि दौडलाई थप रोमाञ्चक बनाएको छ। रियल मड्रिडलाई अब हरेक खेलमा जित हासिल गर्नुपर्ने दबाब छ भने बार्सिलोनाले आफ्नो अग्रता कायम राख्न थप मेहनत गर्नुपर्नेछ। फुटबल प्रशंसकहरू अब आगामी एल क्लासिको र कोपा डेल रे फाइनलको प्रतिक्षामा छन्, जसले यो सिजनको दिशा निर्धारण गर्न सक्छ।