च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिख बराबरीमा रोकिएको छ। मंगलबार राति भएको खेलमा बायर्नलाई नर्वेको क्लब भाइकिङले ३–३ गोलको बराबरीमा रोकेको हो।
बायर्नका लागि ह्यारी केनले २ तथा लुइस डियाजले गोल गरे भने भाइकिङका लागि जियानी स्टेन्सनेस, पिटर क्रिस्टियान्सेन र हर्मन हाउगेनले गोल गरे।
खेलमा सुरुवाती अग्रता भाइकिङले लिएको थियो। खेलको दोस्रो मिनेटमै स्टेन्सनेसले भाइकिङलाई सुरुवाती अग्रता दिलाए। ३८औँ मिनेटमा क्रिस्टियान्सेनले अग्रता दोब्बर बनाए।
पहिलो हाफमा २ गोलल पछि परेको बायर्नले दोस्रो हाफमा पुनरागमन गरेको थियो । उनले दोस्रो हाफको १५ मिनेटमै खेलालाई बराबरीमा ल्याएको थियो। ५४औँ र ६०औँ मिनेटमा केनले गोल गरेका थिए।
३३ वर्षीय केनले लगातार ९ च्याम्पियन्स लिग खेलमा गोल गरेका छन्। यसअघि रुड भान निस्टेलरोय, रोबर्ट लेवान्डोस्की र क्रिस्टियानो रोनाल्डोले मात्रै यस्तो उपलब्धि हासिल गरेका थिए। लगातार ११ खेलमा गोल गरेका रोनाल्डोको नाममा यो कीर्तिमान छ।
७१औँ मिनेटमा बायर्नका लागि लुइस डियाजले गोल गर्दै टिमलाई ३–२ को अग्रता दिलाए। खेलको ७३औँ मिनेटमा माइकल ओलिसे रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बायर्न म्युनिख १० खेलाडीमा सीमित भएको थियो।
खेलको ९०औँ मिनेटमा भाइकिङका लागि हर्मन हाउगेनले गोल गर्दै खेल ३–३ गोलको बराबरीमा ल्याउँदै टिमलाई हारबाट जोगाए।
