वेस्टइन्डिजका अलराउन्डर आन्द्रे रसेल बल र ब्याट दुवैमा चम्किएपछि नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले दोस्रो जित निकालेको छ। रसेलले ब्याटबाट अर्धशतक र बलबाट ४ विकेट लिएपछि विराटनगरले जनकपुर बोल्ट्समाथि २ रनको रोमाञ्चक जित निकाल्यो।
यो जितपछि विराटनगरले प्लेअफ होडमा आफूलाई कायमै राखेको छ। विराटनगरले ४ खेलमा समान २ जित र २ हारको सामाना गरेको छ। जनकपुरको अवस्था पनि विराटनगरको जस्तै छ।
१७५ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनायो। अन्तिम ओभरमा जितका लागि १३ रन चाहिएको अवस्थामा रसेल १० रन मात्र दिएर २ विकेट लिएपछि विराटनगरले रोमाञ्जक जित निकालेको हो।
जनकपुरका लागि बंगलादेशी खेलाडी सेफ हसनले सर्वाधिक ७१ रन बनाए। इनिङको अन्तिम बलमा आउट भएका उनले ४८ बलमा २ चौका र ५ छक्का प्रहार गरे। यस्तै, विशाल सुशिलङले ४३ र जिमी निशमले २९ रन जोडे।
३० रन बनाउँदा ३ विकेट गुमाएको जनपुरका लागि चौथो विकेटका लागि विशाल र हसनले ७६ रनको महत्वपूर्ण साझेदारी गर्दै टिमको आशा जिवितै राखेका थिए।
विशालले ३० बलमा २ चौका र ३ छक्का मदतमा ४३ रन बनायँदखा निशमले १५ बलमा ३ चौका प्रहार गर्दै २९ रन जोडे। निशम १९औं ओभरको अन्तिम बलमा आउट भएका थिए। उनले पाँचौ विकेटका लागि हसनसँग ५६ रनको अर्धशतकिय साझेदारी गरेका थिए।
बलिङमा विराटनगरका लागि आन्द्रे रसेलले ४ ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए भने एन्जेलो म्याथुजले २ तथा रुपेश सिंहले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले विराटनगरले तीन खेलाडीको अर्धशतक मद्दतमा ३ विकेट मात्र गुमाएर १७४ रन बनाएको थियो। विराटनगर किंग्समा इमरान शेख, लोकेश बम र आन्द्रे रसेलले अर्धशत प्रहार गरे। जारी नेपाल प्रियिमर लिगमा पहिलो पटक एकै टिमका तीन ब्याट्सम्यानले अर्धशतक प्रहार गरेका हुन्।
जसमा इमरान शेखले सर्वाधिक ५६ र ओपनर लोकेश बमले ५० रन बनाए। एनपीएल इतिहासमा एकै खेलमा दुई नेपाली ब्याटरले अर्धशतक प्रहार गरेको यो पहिलो पटक हो।
इमरानले ४५ बल खेल्दै ५ चौका र २ छक्का मदतमा ५६ रन बनाए। लोकेशले ४० बल खेल्दा समान ३ चौका र ३ छक्का मदतमा ५० रन जोडे। यी दुईले दोस्रो विकेटका लागि १०७ रनको सतकीय साझेदारी गरे। यो सिजनको पहिलो शतकिय साझेदारी हो।
यस्तै आक्रमक ब्याटिङ गरेका आन्द्रे रसेलले २९ बलमा अविजित ५२ रन बनाए। उनले २ चौका र ५ छक्का प्रहार गरे।
बलिङमा जनकपुरका लागि अभिषेक तिवारी २ तथा मोइन अलीले १ विकेट लिए।
