राष्ट्रिय टिमको प्रशिक्षकका लागि एन्फाले निकाल्यो सूचना, एएफसीको प्रो लाइसेन्स हुनुपर्ने

16 Sep, 2024
Share:
117 Shares

नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्तिका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सूचना निकालेको छ।

एन्फाले सोमबार दिउँसो समाजिक सञ्जालमा सूचना पोस्ट गर्दै मुख्य प्रशिक्षक आव्हान गरेको हो।

एन्फाका कार्यसमिति बैठकले मुख्य प्रशिक्षक भिन्सेन्जो अल्कर्टो एनेसको सम्झौता नवीकरण नगर्ने र नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। सोही अनुसार एन्फाले सूचना निकालेको हो।

एनेसको सम्झौता नवीकरण नगरेसँगै नेपाली टिम प्रशिक्षकबिहीन छ।

नेपाली टिमको प्रशिक्षक बन्न एन्फाले पहिलो शर्तका रुपमा एएफसीको प्रो लाइसेन्स हुनुपर्ने राखेको छ। यस्तै सिनियर राष्ट्रिय टोली अथवा व्यवसायिक फुटबलमा ५–१० वर्षको अनुभव रहेको शर्त पनि एन्फाले तोकेको छ।

२०७९ फागुन १७ मा नेपालको प्रमुख प्रशिक्षक बनेका एनेसले करिब डेढ वर्ष नेपाली टिम सम्हालेका थिए। उनको प्रशिक्षणमा नेपाली टिमले खासै राम्रो प्रदर्शन गर्न सकेको थिएन्।