नेपाली राष्ट्रिय महिला टोलीकी गोलकिपर अञ्जना राना मगर सम्मानित भएकी छिन्।
शनिबार एक कार्यक्रमबीच रोटर्याक्ट क्लब अफ काठमाडौं युनिभर्सिटी, धुलिखेल र काठमाडौं युनिभर्सिटी फुटबल क्लबले संयुक्त रूपमा अञ्जनलाई सम्मान गरेका हुन्।
राष्ट्रिय टिममा नियमित रहेपनि उनी कमैमात्र प्लेइङ ११ मा पर्ने गरेकी छिन्। कप्तान एन्जिला तुम्बापो सुब्बा पहिलो र अञ्जना दोस्रो रोजाईकी गोलकिपर हुन्।
कार्यक्रममा रोटर्याक्ट क्लब अफ काठमाडौं युनिभर्सिटीकी प्रेसिडेन्ट रविना श्रेष्ठले विद्यार्थीहरूलाई प्रेरित गर्न, खेल संस्कृतिको प्रवर्द्धन गर्न, महिला सशक्तीकरण र खेलाडीहरूको सम्मान गर्न कार्यक्रम आयोजना गरिएको बताइन्।
कार्यक्रममा विद्यार्थीहरूले अञ्जनासँग एक घण्टा लामो अन्तरक्रिया समेत गरेका थिए।