इलाममा पाएको हारको बदला चर्च बोइजले एनआरटीसँग झापामा लियो

24 Dec, 2024

झापा कपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ। सोमबार बिर्तामोडस्थित डोमलाल रंगशालामा भएको खेलमा न्यूरोड टिम (एनआरटी) ३–१ ले हराउँदै चर्च बोइजले उपाधि जितेको हो।

योसँगै चर्चा बोइजले इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग प्राप्त हारको बदाला लिएको छ। इलाम गोल्डकपको फाइनलमा चर्च ब्वाइजलाई एनआरटी क्लबले ३–० गोलअन्तरले पराजित गरेको थियो ।

उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ पायो भने उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको प्रतियोगिताको सुरुवातमा एनआरटीले बल पोजिसनमा राखेको थियो । तर खेलको २१औं मिनेटमा चर्च ब्वाइजले अग्रता लियो। चर्च ब्वाइजका समिर तामाङले गोल गरेका थिए।

४३औं मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनायो । रोहन कार्कीले डिबक्समा मिलाइदिएको पासलाई डिबक्समा अनमार्क रहेका विदेशी खेलाडी अर्मान्डले गोल गरे । लगत्तै एनआरटीले १ गोल फर्कायो । विदेशी खेलाडी कार्लोसले दिएको क्रस पासमा कप्तानसमेत रहेका अञ्जन विष्टले गोल गर्दै नतिजा १–२ बनाएका थिए।

खेलको अतिरिक्त समयमा समिर तामाङको पासमा अर्मान्डले गोल गर्दै चर्च ब्वाइजको जित सुनिश्चित पारे।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका क्रिशल मोक्तान, प्रतियोगितामा सर्वाधिक गोलकर्ता एनआरटीका अञ्जन विष्ट, झापा ट्यालेन्टका रूपमा छनोट भएका झापा–११ का प्रदिप बुढाथोकीले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाए।

मस्ट भ्यालुएबल प्लेयर चर्च ब्वाइजका रोहण कार्की भए । उनले नगद १ लाख रुपैयाँ पुरस्कार पाए।