युनाइटेडले प्रशिक्षक फेर्‍यो, फेरिएन प्रदर्शन

27 Dec, 2024
Share:
117 Shares

पछिल्ला दुई सिजन यता म्यान्चेस्टर युनाइटेड निरन्तर खराब प्रदर्शन गरिरहेको छ। एरिक टेन हागको प्रशिक्षणमा युनाइटेडले खराब खेलेपछि उनी आधा सिजन नसकिँदै बर्खास्तीमा परे।

उनको स्थानमा युनाइटेडले पोर्चुगिज युवा प्रशिक्षक रुबेन अमोेरिमलाई नयाँ प्रशिक्षक बनायो। तर, प्रशिक्षक परिवर्तनपछि पनि युनाइटेडको खराब प्रदर्शनको श्रृंखला भने रोकिएको छैन।

गत नोभेम्बर ११मा युनाइटेड आएका अमोरिमको प्रशिक्षमा युनाइटेडले १० खेल खेलेको छ। त्यसमा युनाइटेडले ४ खेल मात्र जित्दा १ बराबरी र ५ खेल हारेको छ।

युनाइटेडले प्रिमियर लिगमा पछिल्ला तीन खेल हारेको छ। म्यान्चेस्टर डर्बीमा सिटीलाई हराएयता युनाइटेड टोटनहम, बोर्नेमाउथ र वुल्भ्ससँग पराजित भएको छ।

बिहीबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको युनाइटेड वुल्भ्ससँग २–०ले पराजित भएको थियो। दोस्रो हाफको सुरुआतमै कप्तान ब्रुनो फर्नान्डेसले रातो कार्ड पाएपछि युनाइटेड दबाबमा आएको थियो। त्यसपछि वुल्भ्सका म्याथुस कुन्हा र ह्वाङ हि चानले गोल गरेका थिए।

जारी सिजन इपिएलमा १८ खेलमा ८ खेलमा पराजित भएको युनाइटेड २२ अंकसहित १४औं स्थानमा छ।

नयाँ प्रशिक्षक अमोरिम टिमको प्रदर्शन सुधार गर्न केही नयाँ खेलाडी जनवरीमा भित्र्याउँन चाहँदैछन्। अहिले अमोरिमको प्राथमिकतामा स्पेनिस क्लब एट्लेटिको बिल्बाओका विंगर निको विलियम्स र बार्सिलोनाका ड्यानी ओल्मोमा छ।

जनवरीमा युनाइटेडका स्ट्राइकर मार्कस रास्फोर्डले क्लब छाड्ने छन्। उनी केही खेलयता युनाइटेडको टिममा छैनन्।