हालान्डकाे २ गाेलमा म्यान्चेस्टर सिटीकाे सहज जित

5 Jan, 2025
Share:
117 Shares

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ। लामो समयदेखि खराब लयमा रहेको सिटीले शनिबार राति भएको खेलमा वेस्टह्याम युनाइटेडमाथि ४–१को सानदार जित निकाल्यो।

सिटीले अक्टोबार पछि प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको हो। यस्तै, उसले गत अगस्टका इपस्विचविरुद्धको खेलपछि पहिलो पटक ४ गोल गरेको हो।

सिटीलाई सानदार जित दिलाउन अर्लिङ हालान्डले २ गोल गरे भने फिल फोडेनले पनि गोल गर्दा अर्को गोल आत्मघाती भएको थियो। वेस्टहमका निक्लस फुलक्रुगले गोल गरेका थिए।

खेलको १०औं मिनेटमा भ्लादिभिर सौफालको आत्मघाती गोलमार्फत सिटीले अग्रता लिएको थियो। त्यसपछि साभियोको पासमा ४२औं मिनेटमा हालान्डले सिटीको अग्रता दोब्बर बनाए।

पहिलो हाफमा २ गोल गरेको सिटीले दोस्रो हाफमा पनि २ गोल गरेको थियो। दोस्रो हाफमा ३ मिनेटमा उसले २ गोल गरेको थियो। ५५औं मिनेटमा साभियोकै पासमा हालान्डले सिटीका लागि तेस्रो गोल गरेका थिए। ५८औं मिनेटमा केभिन डे ब्रुयनाको पासमा फोडेनले गोल गरेपछि खेलमा सिटीले ४–०को अग्रता लियो।

७१औं मिनेटमा फुलक्रुगले गोल गर्दै वेस्टह्यामको अग्रता कम गर्ने प्रयास गरेका थिए। त्यसपछि गोल नहुँदा सिटी ४–१ले विजयी भयो।

वेस्टह्याम प्रिमियर लिगमा यो सिजन ६ खेलमा ३ भन्दाबढी गोलअन्तरले पराजित भएको छ।

जितपछि सिटी २० खेलमा ३४ अंकसहित छैठौं स्थानमा छ। ऊ शीर्ष स्थानको लिभरपुलभन्दा ११ अंकले पछि छ। लिभरपुलले २ खेल कम खेलेको छ। वेस्टह्याम भने २३ अंकसहित १३औं स्थानमा छ।