एन्फा महिला लिगको ‘विभागीय डर्बी’ बराबरीमा

5 Jan, 2025
Share:
117 Shares

एन्फा राष्ट्रिय महिला लिगको अन्तिम चरणको पहिलो विभागी डर्बी भीडन्त बराबरीमा सकिएको छ।

आइतबार एन्फा कम्प्लेक्स मैदानमा भएको विभागीय डर्बी भीडन्तमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेले।

विभागीय डर्बी भीडन्त तनावपूर्ण रह्यो। २२औं मिनेटमा पुलिसका पूजा रानाले गोल गरे पनि त्यसलाई रेफ्री नवीन्द्र महर्जनले मान्यता दिएनन्। त्यसकै विरोध गर्दै पुलिस टिमले २५ मिनेट मैदान छाडेको थियो।

रेफ्रीले भने पूजाले प्रहार गर्ने क्रममा आर्मीकी गोलरक्षक अञ्जना रानामगरमाथि फल भएको निर्णय दिएका थिए। लामो छलफलपछि पुलिस मैदानमा फर्केको थियो।

खेलमा दुवै टिमको गोलको अवसर सिर्जना गरे पनि ती अवसरलाई पोस्टको दिशा दिन सकेनन्।

बराबरीसँगै दुवै टिमले अंक बाँडेका छन्। सुपर लिगमा दुवै टिमको समान ४ अंक भएको छ। तर, गोल अन्तरमा पुलिस पहिलो र आर्मी दोस्रो स्थानमा छ।