युवा स्टार यमाल र गाबी चम्किए, बार्सिलोना सुपर कपको फाइनलमा

9 Jan, 2025
Share:
117 Shares

युवा स्टारद्वय लमिन यमाल र गाबीको गोल मद्दतमा बार्सिालेना स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ।

बुधबार राति साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा भएको खेलमा एथ्लेटिक क्लबलाई २–०ले हराउँदै बार्सिलोना फाइनलमा पुगेको हो।

बार्सिलोनाले खेलको १७औं मिनेटमा गाबीको गोलमा सुरुआती अग्रता लियो। उनले एलेक्स बाल्डेको पासमा गोल गरेका थिए। पहिलो हाफ १–०मै सकियो।

दोस्रो हाफको सुरुआतमै बार्सिलोना अग्रता दोब्बर बनायो। उसका यमालले ५२औं मिनेटमा गाबीकै पासलाई सदुपयोग गर्दै गोल गरेका थिए। त्यसपछि खेलमा गोल नहुँदा बार्सिलोना फाइनलमा पुग्यो।

अब उसले उपाधिका लागि रियल मड्रिड र रियल मायोर्काबीचको विजेतासँग खेल्ने छ। रियल र मायोर्काबीचको खेल आज राति हुनेछ भने फाइनल १२ जनवरी राति हुनेछ।