वालिङको पोस्टमा एपिएफको १० गोल, रश्मीले गरिन् ह्याट्रिक

17 Jan, 2025
Share:
117 Shares

जारी एन्फा महिला लिगको सुपर लिगको दोस्रो चरण अर्थात् सुपर लिगमा विभागीय टिम एपिएफ क्लबले फराकिलो जित निकालेको छ। शुक्रबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा एपिएफले स्याङ्जाको वालिङ नगरपालिकालाई १०–०को फराकिलो अन्तरले हरायो।

एपिएफलाई फराकिलो जित दिलाउन रश्मीकुमारी घिसिङले ह्याट्रिकसहित ४ गोल गर्दा सरु लिम्बू र सविता रानामगर समान २ र प्रीति राईले २० तथा रेनुका नगरकोटे पनि गोल गरे। एपिएफले पहिलो हाफमा ६ र दोस्रो हाफमा ४ गोल गरेको थियो।

खेलमा सातौं मिनेटमा रश्मीको गोलमा एपिएफले अग्रता लियो। १ मिनेटपछि नै रश्मीले नै टिमको अग्रता दोब्बर बनाइन्। त्यसपछि २०औं मिनेटमा प्रिती, २३औं मिनेटमा सरु, २४औं मिनेटमा रेनुका र २७ औं मिनेटमा पुनः सरुले गोल गरेपछि पहिलो हाफमा एपिएफले ६–०को अग्रता लियो।

त्यसपछि दोस्रो हाफको ५४औं मिनेटमा रश्मीले गोल गर्दै ह्याट्रिक पुरा गरिन्। लगत्तै ५९औं मिनेटमा उनले टिमको आठौं र व्यक्तिगत चौथो गोल गरिन्। त्यसपछि ८३ र ८५औं मिनेटमा सविताले गोल गरेपछि एपिएफले १०–०को फराकिलो जित निकाल्यो।

प्रतियोगिताको एक्लो अपराजित टिम एपिएफको यो सुपर लिगमा लागतार छैठौं जित हो। ऊ १८ अंकसहित शीर्ष स्थानमा छ भने खाता खोल्न नसकेको वालिङ पुछारमा छ।