च्याम्पियन्स लिगमा बेन्फिकामाथि बार्सिलोनाको रोमाञ्चक जित

22 Jan, 2025

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस जायन्ट बार्सिलोनाले रोमाञ्चक जित निकालेको छ। मंगलबार राति भएको ९ गोल भएको थ्रिलर म्याचमा बार्सिलोना २ गोलले पछि परेको अवस्था उल्टाउँदै पोर्चुगिज क्लब बेन्फिकामाथि ५–४को रोमाञ्चक जित निकाल्यो।

खेलमा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र राफिन्हाले समान २ गोल गरे भने इरिक गार्सियाले पनि गोल गरे। यता, बेन्फिकाका भान्गेलिस पाभ्लिडिसले ह्याट्रिक गरे भने अर्को गोल आत्मघाती भएको थियो।

घरेलु मैदानमा खेलमा अग्रता पनि बेन्फिकाले लियो। उसका पाभ्लिडिसले दोस्रो मिनेटमै गोल गरेका थिए। तर, १३औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गर्दै लेवान्डोस्कीले खेललाई बराबरीमा ल्याए।

त्यसपछि ८ मिनेटमा अन्तरमा पाभ्लिडिसले २ गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे भने टिमलाई ३–१को अवस्थामा ल्याए। उनले २२औं मिनेटमा पहिलो गोल गर्दै बेन्फिाकालाई पुनः अग्रता दिलाउँदा ३०औं मिनेटमा पोनाल्टीमा गोल गदै ह्याट्रिक पुरा गरेका थिए।

पहिलो हाफ ३–१मै सकियो। ६४औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरे। तर, ६८औं मिनेटमा रोनाल्ड अरौजोले आत्मघाती गोल गरेपछि बेन्फिाकाले पुनः २ गोलको अग्रता लियो।

त्यसपछि ७८औं मिनेटमा पुनः पेनाल्टीमै लेवान्डोस्कीले गोल गर्दै खेललाई ४–३को अवस्था ल्याए। ८६औं मिनेटमा गार्सियाले गोल गर्दै बार्सिलोनलाई जितको आशा दिलाए। इन्जुरी समयको छैठौं मिनेटमा राफिन्हाले नै गोल गरेपछि बार्सिलोनाले खेल रोमाञ्चक रुपमा ५–४ले जित्यो।

खेलको अन्त्यमा बेन्फिका १० खेलाडीमा समेटिएको थियो। इन्जुरी समयको आठौं मिनेटमा उसका अर्थुर क्याब्रालले रातो कार्ड पाएका थिए।