एन्फा महिला लिगमा एपिएफको लागतार आठौं जित

22 Jan, 2025
Share:
117 Shares

विभागीय टिम एपिएफ क्लबले एन्फा महिला लिगको सुपर लिगमा लगातार आठौं जित निकालेको छ। सुपर लिगको सबैखेल जित्ने क्रममा एपिएफले बुधबार भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई २–१ले हरायो।

एपिएफलाई जित दिलाउने क्रममा रश्मीकुमारी घिसिङ र अनिता बस्नेतले गोल गरे भने आर्मीका अमिशा कार्कीले गोल गरेकी थिइन्।

एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा एपिएफले २३औं मिनेटमा रश्मीको गोलमा सुरुआती अग्रता लियो। ३८औं मिनेटमा अनिताले एपिएफको अग्रता दोब्बर बनाइन्।

पहिलोृ हाफ २–०मा सकियो। ८३औं मिनेटमा अमिशाले गोल गर्दै आर्मीलाई खेलमा फर्काउने प्रयास गरिन्। तर, थप गोल नहुँदा खेल एपिएफले २–१ जित्यो।

एपिएफ एन्फा लिगका दुवै चरणमा अपराजित रह्यो। १७ खेलमा अपराजित रहेको उसले लागतार १६ खेल जित्यो।

योसँगै सुपर लिगमा एपिएफ २४ अंकसहित शीर्ष स्थानमा रह्यो भने आर्मी १६ अंकसहित दोस्रो स्थानमा रह्यो। अब यिनै दुई टिमले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर खेल्ने छन्।

यस्तै, तेस्रो र चौथो स्थानमा रहेका नेपाल पुलिस र बागमती युथ क्लबले एलिमिनेटर खेल्ने छन्।