महिला लिगको फाइनलमा एपीएफ र पुलिस भिँड्दै

29 Jan, 2025

एन्फा महिला लिगको फाइनल खेलमा आज (बुधबार) दशरथ रंगशालामा हुँदैछ। उपाधिका लागि नेपाल एपिएफ क्लबले पुलिस क्लबको सामना गर्दैछ।

रंगशालामै गएर खेल हेर्न चाहने दर्शकका लागि अखिल नेपाल फुटबल संघ (एन्फाले) टिकट दर तय गरेको छ। एन्फाका अनुसार फाइनल खेलको भीआईपीतर्फको टिकट दर ३ सय रुपैयाँ तोकेको छ भने साधारणतर्फ १ सय रुपैयाँ तय भएको छ।

महिला लिगका अन्य खेल भने सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएका थिए। एन्फाले फाइनल मात्र दशरथ रंगशालामा गर्न लागेको हो। लिगको मुख्य दाबेदार मानिएको एपिएफ र पुलिसबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ।

जारी लिगमा एपिएफ एकमात्र अपराजित टिम हो। एपिएफको सोही प्रदर्शनका कारण उसलाई यसपटक पनि उपाधिको मुख्य दाबेदारको रुपमा हेरिएको हो।

लिगमा यसअघि एपिएफ र पुलिस तीन पटक भिडिसकेका छन्। एपिएफ अहिलेसम्म एक खेलमा बराबरीमा रोकिएको छ भने बाँकी सबै खेलमा जित हात पारेको छ। एपिएफलाई बराबरीमा रोक्न सफल एकमात्र टिम पुलिस नै हो। पहिलो चरणमा एपिएफलाई पुलिसले गोल रहित बराबरीमा रोकेको थियो।

दोस्रो चरणको दुई खेलमा भने एपिएफले पुलिसलाई हराएको थियो। पहिलो लेगमा ६–० र दोस्रो लेगमा २–० ले एपिएफ विजयी भएको थियो।

पुलिसविरुद्धको लिग चरणको प्रदर्शनलाई निरन्तरता दिंदै एपिएफ उपाधि जित्ने दाउमा रहेको छ। पुलिस भने दुई खेलको हारको बदला लिँदै उपाधि जित्ने मिसनमा रहेको छ।