विश्व फुटबलमा सबैभन्दा प्रतिष्ठित र रोमाञ्चक मानिने प्रतियोगिता युइएफए च्याम्पियन्स लिग युरोपेली क्लबहरूबीच हुने उच्चस्तरीय प्रतिस्पर्धाको प्रमुख केन्द्र हो। यो प्रतियोगिताले फुटबलप्रेमीहरूलाई सधैं रोमाञ्चित बनाउँदै आएको छ।
यस सिजनबाट युइएफएले च्याम्पियन्स लिगको फर्म्याट परिवर्तन गरेको छ। आज बुधबार नयाँ फर्म्याटमा सञ्चालन भइरहेको च्याम्पियन्स् लिगको समूह चरण अन्तर्गतका अन्तिम खेलहरू हुँदैछन्।
यस अवसरमा प्रतियोगिताको इतिहासदेखि अनौठा र रोचक तथ्यहरू सम्मका केही जानकारी यहाँ प्रस्तुत गरेका छौः
१. युरोपकै सबैभन्दा ठूलो क्लब प्रतियोगिता
च्याम्पियन्स लिग युरोपका शीर्ष लिगका शीर्ष क्लबहरूबीच हुने सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हो। प्रत्येक वर्ष हजारौं फुटबलप्रेमीहरूले यस प्रतियोगितालाई समर्थन गर्दै आफ्नो मनपर्ने क्लबलाई चियर गर्ने गर्दछन्।
२. सन् १९५५ मा सुरूवात
यो प्रतियोगिता सन् १९५५ मा ‘युरोपियन च्याम्पियन क्लब्स कप’को रूपमा सुरु भएको थियो। त्यो समय प्रतियोगितामा सीमित संख्यामा मात्र क्लबहरूले भाग लिने गर्दथे।
३. सन् १९९२ मा नाम परिवर्तन
सन् १९९२ मा यसको नाम परिवर्तन गरेर युइएफए च्याम्पियन्स लिग राखियो। यो परिवर्तनसँगै प्रतियोगिताको स्वरूप र लोकप्रियता दुबै बढ्यो।
४. सबैभन्दा सफल क्लब
स्पेनको चर्चित क्लब रियल मड्रिडले १४ पटक यो उपाधि जितेर सबैभन्दा सफल क्लबको स्थान हासिल गरेको छ। क्लबले आफ्नो पहिलो उपाधि सन् १९५६ मा जितेको थियो।
५. ह्याट्रिक उपाधि
रियल मड्रिडले सन् २०१६, २०१७ र २०१८ मा लगातार तीन वर्ष यो उपाधि जितेर इतिहास रचेको थियो। यो कीर्तिमान कुनै पनि क्लबका लागि फुटबलमा उछिन्नका लागि कठिनमध्येको उपलब्धिका रूपमा मानिन्छ।
६. सबैभन्दा बढी गोलकर्ता
पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। उनले विभिन्न ३ क्लबबाट च्याम्पियन्स लिग खेलेर १४१ गोल गर्दै यो उपलब्धि हात पारेका हुन्।
७. सर्वाधिक सफल खेलाडी
क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगका सबैभन्दा सफल खेलाडी हुन्। प्रतियोगिताका सर्वाधिक गोलकर्ता मात्र नभएर उनी एक हिसाबमा च्याम्पियन्स लिगका पर्याय नै हुन्। उनी च्याम्पियन्स लिगका सर्वाधिक खेल खेल्ने खेलाडी हुन्। उनले रियल मड्रिड, म्यानचेस्टर युनाइटेड र युभेन्टस गरि ३ वटा क्लबबाट कुल १८३ खेल खेलेका छन्। जसमा उनले सर्वाधिक १४१ गोल गर्नुका साथै सबैभन्दा धेरै ४२ असिस्ट समेत गरेका छन्। फ्यानहरूले उनको प्रतियोगितामा सफलताका कारण च्याम्पियन्स लिगलाइ ‘क्रिस्टियानो रोनाल्डो लिग’ भनेर ट्रोल पनि गर्ने गरेका थिए।
८. पहिलो विजेता
यो प्रतियोगिताको पहिलो संस्करणको विजेता पनि रियल मड्रिड नै बनेको थियो। फाइनलमा रियलले फ्रान्सको स्टेड डे रिम्सलाई पराजित गर्दै च्याम्पियन बन्न सफल भएको थियो।
९. सबैभन्दा छिटो गोल
सबैभन्दा छिटो गोलको कीर्तिमान रोय म्याक्केको नाममा छ। उनले बायर्न म्युनिखका लागि खेल्दै खेल सुरू भएको १०.१२ सेकेन्डमै गोल गरेका थिए।
१०. प्रतिष्ठित स्टेडियम र माहोल
फाइनल खेल प्रायः युरोपका प्रतिष्ठित स्टेडियमहरूमा आयोजना गरिन्छ। यी स्टेडियमहरूमा हजारौं दर्शकहरूको उपस्थिति रहने गर्दछ। यो माहौल खेलप्रेमीहरूका लागि जीवनभर यादगार हुने गर्दछ।
यसका साथै च्याम्पियन्स लिगको फाइनल खेल संसारभरि करोडौं दर्शकहरूले हेर्ने गर्दछन्। यो खेललाई अमेरिकी सुपर बाउलपछि सबैभन्दा धेरै हेरिने खेलको रूपमा लिइन्छ।
युइएफए च्याम्पियन्स लिगको रोचक इतिहास र उत्कृष्ट खेलले विश्वभरिका फुटबलप्रेमीहरूलाई रोमाञ्चित पार्दै आएको छ। यो प्रतियोगिता केबल एउटा खेलमात्र नभई युरोपेली फुटबलको गौरव पनि हो।