काठमाडौं, जेठ ८ एसियन गेम्स छनोटको तयारी खेलिरहेको मलेसियाविरुद्धको टि–२० नेपाली महिला टिमले जितेको छ।
शुक्रबार भएको दोस्रो खेलमा घरेलु टोली मलेसियालाई ७ विकेटले हराउँदै नेपालले सिरिज २–०ले जितेको हो। पहिलो खेलमा नेपालले ६८ रनको झिनो लक्ष्य पछ्याउँदा २ रनको संघर्षपुर्ण जित निकालेको थियो।
मलेसियाले दिएको ८३ रनको लक्ष्य नेपालले १६ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागिसम्झना खड्काले नटआउट ३९ रन बनाउँदा कविता कुँवरले पनि नटआउट १९ रन बनाइन् । बलिङमा मलेसियाका लागि नुर दानिया, आइसा एलिसा र आइना हमिजाले समान १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको थियो। यसका लागि आइना हमिजाले १७ धनुश्रीले १५ र आरियाना नताशा १३ रन बनाइन्।
बलिङमा नेपालका कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले समान २ विकेट लिए।
