क्रिकेटराष्ट्रिय क्रिकेट

विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा, अर्जुन र किशोरको पुनरागमन

जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक मोन्टी देसाईले करिब एक साताको बन्द प्रशिक्षण पछि १६ सदस्यीय टिम घोषणा गरेका हुन्।

२२ सदस्यीय प्रारम्भिक टिमबाट देसाईले रोहितकुमार पौडेलको कप्तानीमा टिम घोषणा गरेका हुन्। नेपाली टिममा अघिल्लो महिना एसिसी प्रियिमर कप खेलेका सबै खेलाडी समेटिएको छ।

त्यसमा देसाईले फास्ट बलर किशोर महतो र विकेटकिपर ब्याट्सम्यान अर्जुन साउदलाई टिममा राखेका छन्। प्रिमियर कपमा दुवै वैकल्पिक खेलाडीमा थिए।

प्राम्भिक टिममा रहेका श्याम (मौसम) ढकाल, देव खनाल, सूर्य तामाङ, सन्दीप जोरा, अभिनास बोहरा र कमलसिंह ऐरी टिममा अटाउन सकेनन्।

जुन १८ देखि सुरू हुने विश्वकप छनोटमा नेपाल वेस्टइन्डिज र जिम्बाबे, नेदरल्यान्ड्स र अमेरिकासँगै समूह एमा छ।

नेपालले आयोजक जिम्बाबेसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ। नेपाल र जिम्बाबेबीचको खेल असार ३ गते हरारे स्पोर्टस क्लबमा हुनेछ।

यस्तै, नेपालले दोस्रो खेल असार ५ गते अमेरिकासँग खेल्ने छ भने चौथो खेल वेस्टइन्डिजसँग असार ७ गते खेल्ने तालिका छ। यस्तै, नेपालले समूहको अन्तिम खेल असोज ९ गते नेदरल्यान्ड्ससँग खेल्ने छ।

१० टिम सहभागी प्रतियोगिताको समूह बीमा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई छन्। दुवै समूहका शीर्ष ३ स्थानमा रहने टिम सुपर सिक्समा पुग्ने छन्। लिगका आधारमा हुने सुपार सिक्सबाट शीर्ष दुई टिमले भारतमा हुने विश्वकपमा स्थापन बनाउने छन्।

नेपाली टिम विश्वकप छनोटका तयारीका लागि दक्षिण अफ्रिका जाने छ। त्यहाँ २ साता प्रशिक्षण गरेपछि उतैबाट नेपाली टिम विश्वकप छनोटका लागि जिम्बाबे जाने छ।

नेपाली टिम : कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, किशोर महतो।